- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति निर्माणका लागि शनिवार बिहानबाट मतदान सुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभाबाट नयाँ समिति निर्माणका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान थालिएको हो ।

एशोसिएटतर्फको मतदान केन्द्र कार्की व्याङ्केट बबरमहलमा बिहान ९ बजेबाट मतदान सुरु भएको छ । वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १० बजेदेखि मतदान सुरु भएको छ । कोराना संक्रमित मतदाताहरुका लागि प्रज्ञा प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाईएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै छुट्टाछुट्टै स्थानमा मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्य गरी ६४ पदका लागि निर्वाचन भएको हो । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार शेखर गोल्छा अध्यक्ष बन्नेछन् । गोल्छापछिको कार्यकालमा अध्यक्ष बन्न वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल यसअघि नै निर्विरोध भईसकेका छन् । मतदानपछि बाँकी पदको टुंगो लाग्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!