काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।

मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । करीब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।

एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । उनका अनुसार यसपटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६/६७ देखि बालभिटा खुवाउन थालिएको हो ।

यस्तै आज र भोलि नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ । रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ । हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!