संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित थलथलेमा ठूलो लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । सघन सहरी बिकास कार्यालय धनकुटामार्फत २ करोड ३४ लाखको लागतमा आँखिसल्ला स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

Advertisement

गाउँबासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने गरी १० कोठा भएको दुई तले व्यवस्थित स्वास्थ्य चौकी भवन निर्माण भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । ‘स्वास्थ्य चौकीको व्यवस्थित भवन निर्माण भएको छ ।’ अध्यक्ष राईले भने–‘अब स्वास्थ्य चौकीबाट सकेसम्म बढी स्वास्थ्य उपचार सेवा दिने योजनामा छौं ।’

संघीय सांसद राजेन्द्र राईले केही दिन अघि सिलालेख अनावरण गरेर भवन उद्घाटन गरेका छन् । अब स्वास्थ्य चौकीमै सुत्केरी गराउँने सेवा र रगत परीक्षण सेवा पनि उपलब्ध गराईने बताईएको छ । सो स्वास्थ्य चौकीमा एक जना एचए, दुई जना अहेब र तीन जना अनमीको दरबन्दी छ । गाउँमै सुत्केरी सेवा उपलब्ध गराईने भएपनि गर्भवतीको स्वास्थ्य अवस्था अनुसार रेफर गरेर अन्यत्र पठाउँनु परेमा गाउँपालिकाले आर्थिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।

आँखिसल्ला स्वास्थ्य चौकीबाट रेफर गरेर पठाईएकालाई प्रति व्यक्ति २ हजार ६ सय र साम्बुगाउँस्थित छिन्ताङ स्वास्थ्य चौकीबाट रेफर गरेर पठाईएकालाई ४ हजार ३ सयका दरले रकम उपलब्ध गराईदै आएको गाउँपालिका अध्यक्ष राईले बताए । जिल्ला अस्पतालसम्मको दुरीलाई आधार मानेर गाउँपालिकाले आँखिसल्ला र छिन्ताङ स्वास्थ्य चौकीबाट रेफर हुँनेलाई फरक–फरक दरमा रकम उपलब्ध गराउँने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!