काठमाडौँ। पहिलो चरणको स्थानीय चुनावमा निर्वाचित प्रतिनिधिहरुले स्थानीय तह  वार्षिक योजना र त्यसको बजेट बनाइसके।

Advertisement

भरतपुर महानगरपालिका मेयर उमेद्वार देवी ज्ञवाली र रेणु दाहाल भने सर्वोच्च अदालतको आदेश कुरेर बसेका छन्।

सँगै निर्वाचन भएका स्थानीय तहका प्रतिनिधिहरुले कसरी शासन गर्ने भन्ने तालिम लिएका बेला भरतपुरका उम्मेदवार भने घरदैलोमा व्यस्त रहेको समाचार आइरहेका थिए।

वडा नम्बर १९ को मतगणना स्थगीत भएपछि भरतपुर महानगरको चुनाव विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले यो विवादको सुनुवाइ ५ पटक सारिसकेको छ।

यो बीचमा भरतपुर महानगरका मेयर उम्मेदवार के गरिरहेका छन्? उनीहरुले सेतोपाटीलाई दिएको जवाफ :

देवी ज्ञवाली

१९ वडाको मतगणना हुँदाहुँदै माओवादीका प्रतिनिधि साथीहरूले मतपत्र च्यातेपछि हामी सर्वोच्च अदालतमा रिट लिएर गयौँ। अदालतमा रिट विचाराधीन छ। अब उसले जे निर्णय गर्छ,त्यसैको आधारमा आगामी कदम निर्धारण हुनेछ भनेर मतदातालाई बुझाउँदैछौँ।

हाम्रो आस्था अदालतप्रति छ। उसले न्याय र अन्याय छुट्याएर हेर्छ भन्नेमा हामी ढुक्क छौँ। त्यसैले अदालतले गरेको निर्णय मान्य हुनेछ।

हामी आशा गर्छौँ, जसरी फुटबलको खेलमा प्रतिपक्षीको खुट्टामा हानेर घाइते बनाउने विपक्षी खेलाडीलाई पेनाल्टी हान्ने अधिकार हुँदैन। त्यसैगरी अदालतले पनि मतपत्र च्यात्ने अनि फेरि निर्वाचन माग गर्नेको पक्षमा फैसला गर्ने छैन।

विवाद अदालत पुगेपछि पनि मैले निरन्तर  मतदाताहरुलाई भेटेका छु। माओवादीका साथीहरुले आफूले हार्ने निश्चित भएपछि कसरी मतपत्र च्यात्नुभयो भनेर बुझाएक‍ो छु। किन मतपत्र च्यात्नुभयो भन्ने पनि मतदातालाई जानकारी गराएका छु।

हामीकहाँ त धेरै भाषणबाजी गर्ने चलन छ। उनीहरुले जनतालाई झुक्याउन नपाउन् भनेर मतपत्र च्यातेपछि प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रीय सदस्य द्रोण सिवाकोटी र वाइसिएलका जिल्ला इन्चार्ज मधु न्यौपाने विरुद्ध सरकारी वकिलले लगाएको  लगाएको अभियोगपत्र वडावासीको घरघरमा पुगेर बाँडिदिएका छौं। मतदाताका हातहातमा थमाइदिएका छौँ।

अहिले अदालतले उनीहरुलाई धरौटीमा छोडेको छ तर उनीहरुबारे हामीले मतदालतालाई सम्झाएका छौँ।

हामीले यसबीचमा दुई पटक घरदैलो गरेका छौँ। महिला समूह, आमा समूह,स्थानीय क्लब र नागरिक समाजसँग गरL १८ समूहलाई भेटेर छलफल र अन्तरक्रिया गरिसकेका छौँ।

अन्तरक्रियामा जनताहरुले हामीलाई भन्ने सोध्ने गरेका छन्- दिनभरी लाइन बसेर मत हालेका थियौँ। तिनै मत च्यात्ने फेरि मतदानमा बोलाउने? हाम्रो केही काम छैन ?

हामीले त्यसैले उनीहरुलाई अदालतको निर्णयको प्रतिक्षा गर्न भन्ने गरेका छौँ।

१९ वडाको मतगणना रोकिएको छ। २० नम्बर वडाको मतगणनै बाँकी छ। १४ वडा हामीले जितेका छौँ। मेयरको पो रोकिएको हो।

हामी यसैपनि महानगरमा बहुमतमा हुनेछौँ। र अब पनि मतगणना वा मतदान जे भएपनि हामीले नै जित्छौँ। त्यसैले  निर्वाचन सकिएपछि कसरी काम गर्ने, कस्ता समस्या छन् र समाधानका उपाय के छन् महानगरको विकासका लागि कस्ता योजना बनाउने भनेर आन्तरिक छलफल पनि गरिरहेका छौँ।

रेणु दाहाल

अदालतमा मुद्दा विचाराधीन छ, त्यसैले  जनतासामू जाने समय पाएका छौँ। हामीले वडामा गएर त्यहाँका जनतालाई गएर धैर्य गर्न भनेका छौँ।

अहिले पनि म १९ नम्बर वडामै जाँदै छु। यहाँ विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रम गरेका छौँ। हामीलाई विभिन्न समुह र नागरिक समाजका मानिसहरुले बोलाउनुहुन्छ।

त्यहाँ गएर कुराकानी गर्छौ‌। अदालतमा मुद्दा विचाराधीन भएकाले भोट नै माग्ने कुरा त आएन तर हामीले हाम्रा एजेण्डाका बारे सम्झाउँछौं।

मतगणना स्थगितपछि एकपटक वडानम्बर १९ मा घरदैलो गरिसक्यौ‌ं। जनताहरुले अरु स्थानीय तहमा कति काम भैसक्यो हाम्रोमा कहिले समाधान हुन्छ भनेर सोधिरहनुहुन्छ। छिटै हुन्छ भनेर हामीले सम्झाउँदै आएका छौँ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!