रासस
फायल तस्बीर

सिरहा । कोरोना सङ्क्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा बिद्युत चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका वर्षमा बिद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा करिब २७ प्रतिशतमा झरेको चुहावट यस वर्ष ३६ दशमलव २५ प्रतिशतमा पुगेको बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बिद्युत चुहावट अभियान सञ्चालन हुदाँ बिद्युत चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको थियो । सरकारले गत चैत महिनादेखि गरेको लकडाउन र फैलिँदो कोरोना सङ्क्रमणको सन्त्रासका कारण चुहावट नियन्त्रणका लागि गाउँ-गाउँमा टोली पठाउन नसकेका कारण चुहावट बढेको बिद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख ई धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

Advertisement

यस्तै आर्थिक वर्ष २०७६/७७ मा बिद्युत महसुल नबुझाउने एक हजार ४२४ ग्राहकको बिद्युत लाइन  काट्दा तीन करोड २९ लाख ८४ हजार ४८२ बाँकी बक्यौता रकम असुली भएको जनाएको छ । आ.व. २०७५/७६ मा बिद्युतको महसुल नबुझाउने ४४९ ग्राहकको बिद्युत लाइन  काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको थियो ।

लामो समयदेखि बिद्युत महसुल नबुझाउने २७७ ग्राहकलाई कालोसूचीमा राखिएको र त्यस्ता ग्राहकको क्रमशः लाइन काटिने प्रमुख यादवको भनाइ छ । कालोसूचीमा रहेका ग्राहकबाट  ६० लाख आठ हजार ४३८ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । त्यस्तै बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी बिद्युत चुहावट गर्ने ३६ जनालाई पक्राउ गरी जरिवानावापत रु १७ लाख ८४ हजार ८६३ राजश्व सङ्कलन भएको बिद्युत प्राधिकरण वितरण केन्द्र लहानका इञ्जीनियर रामजी साहले बताए ।

सो क्रममा २२० थान बिद्युत मोटरसमेत बरामद गरिएको प्रमुख यादवले बताए। कूल ५८ हजार ८८४ ग्राहकबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आव २०७६/७७ मा बिद्युत महसुल ९४ दशमलव ८२ प्रतिशत अर्थात् रु ३३ करोड ६६ लाख १६ हजार ४४० सङ्कलन गरेको इञ्जीनियर साहले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!