सरिता भट्टराई नेपाल

परम्परागत रुपमा मानिस जंगली युगबाट जीवन निर्वाह गर्दै आएका थिए । मानिसमा जंगली जीवन बडो कष्टमय र दुःखदायी हुन थालेपश्चात समयको परिवर्तनसँगै गाँउ, समाज र समाजका व्यक्तिहरुको सहयोग नभई नहुने आवश्यकता महशुस गर्न थालियो । त्यसैले समाजको निर्माण भयो र मानिस समाजिक प्राणी कहलायो ।

Advertisement

मानिस समाजमा जन्मन्छ, हुर्कन्छ र समाजमा नै देहत्याग गर्दछ । मानिस समाजभन्दा बाहिर गएर बाँच्न सक्दैन । त्यसैले उसलाई हरपल समाजको आवश्यकता पर्दछ । समाजमा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृितका मानिसहरुको बसोबास हुन्छ । सम्पूर्ण जातजाती, भाषाभाषी, धर्म संस्कृितहरुको सम्मान गर्दै समाज चलेको हुन्छ र समाजका सबै व्यक्तिहरुसँग हामील ेभाईचाराको नाता सम्बन्ध कायम गरी समाजको अस्तित्व कायम राख्नुपर्छ । समाजका व्यक्तिहरु मिलनसार, सहयोगी, मृदुभाषी, कर्तव्यनिष्ठ, अहंकाररहित हुनु आवश्यक छ । लडाई, झगडा, काटमार, हिंसा जस्ता आपराधिक कयृाकलापहरुको जन्म हुन नदिन समाजको अहम् भूमीका हुने गर्दछ । समय गतिशिल छ यसले पर्खदैन । त्यसैले समयमै सचेत भई असल संस्कारयुक्त सामाजिक एकताको सूत्रमा बाँधिनु आजको आधुनिक युगको आवश्यकता रहको छ ।

शिक्षा, सभ्यता, संस्कृितलाई पहिचान गरी असल समाज बनाउने प्रयत्न गर्नु पर्दछ । समाजमा एउटा अति महत्वपूर्ण कुरा हो असल छिमेकी, असल छिमेकी आज समाजलाई माथि उठाउने एउटा मेरुदण्ड हो । असल छिमेकीबाट समाजले विभिन्न शिक्षाहरु प्राप्त गरिरहेको हुन्छ । उसलाई समाजका अरु व्यक्तिहरुले सहयोग गर्नपर्दछ । समाजमा विभिन्न किसिमका कुरिती, विसंगतिहरु जस्तैः धुम्रपान, मध्यपान, लागूपदार्थ सेवन, बलत्कार, भ्रस्टचार आदि विकृतिहरु दिन प्रतिदिन बढ्न गई समाजलाई उन्नतीतर्फ नभई अधोगतितिर लगिरहेको पाईन्छ । यस्ता विकृतिहरुको निराकरण गर्न समाजका हरेक व्यक्तिहरुले छलफल गरी यसलाई निर्मूल गर्नको लागि आफ्नो पाइला अगाडि बढाउनुपर्दछ । असल छर छिमेकीबाट सभ्यता, अनुशासन, नैतिकताको पाठ सिक्नु आजको अतिनै महत्वपूर्ण विषयवस्तु हो । आजभोलि तँ भन्दा म के कम भनि लुछाचुडी गर्ने अहमता देखाउने प्रवृत्तिले गर्दा आज असल को ? खराव का ? भनि छुट्याउन एकदम अफ्ठ्यारो पर्न गएकोछ । समाजलाई विथोल्ने, गलत कुराको प्रचार प्रसार गर्ने समाजमा रहका व्यक्तिहरुले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति जस्ता बानी व्यवहारहरुलाई सुधार्नु पर्दछ । राम्रा ज्ञानबर्दक कुराहरुको अनुसरण गर्नु र नराम्रा कुराहरुको अन्त्य गर्नु हामी सबैको जिम्मेवारी हुन आउँछ । सामाजिक कार्यमा कार्यहरुको बाँडफाँड गरी एकजुट भई सहयोग आदान प्रदान गर्नु र सम्मानजनक व्यवहार गर्नु प्रत्येक समाजको साझा कर्तव्य हो ।

दिन प्रतिदिन बढ्दो विकृत्तिले गर्दा समाजमा छिमेकी–छिमेकीविचको प्रतिशोधको भावना जन्म भई पद, पैसा र पावर नै सबै थोक हो, भन्ने विषयको सुत्रपात हुन थालेको छ । तर कदापी मानिसले यो कुरा भुल्नु हुदैन की आपत-विपद परेको बेला पद, पैसा र पावर सबै कमजोर हुन सक्छन् । तर असल छिमेकी जति नै कमजोर भएपनि उसले आफ्नो छिमेकीेको ढाल बनी हरदम साथ र सहयोग गर्न तत्पर रहन्छ ।

असल छिमेकीबाट अर्को छिमेकीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवहारिक कुराहरु ग्रहण गरिरहेको हुन्छ । राम्रा कुराहरु एक आपसमा हस्तान्तरण भई नै रहेको हुन्छ । एउटा असल छिमेकी समाजको पहरेदार हो । एउटा छिमेकी राम्रो र शिक्षित भयो भने अर्को छिमेकी पनि राम्रो र असल हुन सक्छ । व्यक्ति-व्यक्ति मिलेर परिवारको निर्माण हुन्छ, परिवार-परिवार मिलेर समाजको निर्माण हुन्छ, समाज-समाज मिलेर राष्ट्रको निर्माण हुन्छ र राष्ट्र-राष्ट्र मिलेर विश्वको निर्माण हुन्छ । त्यसैले पुरा ब्रम्हाण्डलाई सुन्दर बनाउनका लागि असल छिमेकीको हात पहिले हुन्छ । त्यसैले असल छिमेकीको आवश्यकता बोध भईरहेको छ । जीवनको हरेक मोडमा समाज र समाजका व्यक्तिहरुको आवश्यकता पर्दछ, हरेक व्यक्तिले यसलाई सकारात्मक साचेका साथ ग्रहण गरी अगाडि बढ्नु पर्दछ । समाजबाट सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान पनि लिन र दिन सकिन्छ । मानिसलाई सही/गलत पहिचान गराई सही मार्ग पहिल्याउने एउटा खुड्किलो भनेको नै समाज हो ।

समाजलाई असल र मर्यादित बनाउन समाजका प्रत्येक जिम्मेवार नागरिकको दायित्व हुन आउँछ । समाजलाई सही मार्गमा हिँडाउन असल छिमेकीको आवश्यकता पर्दछ । मर्दा, पर्दा र विभिन्न किसिमको चाडपर्व मनाउन सामुहिक रुपमा सर-सहयोग आदान-प्रदान गर्नुपर्दछ । भौगोलिक विकटता भएका गाउँ समाजमा विभिन्न किसिमका कुरिति र कुसंस्कारले जरो गाडेको पाउन सकिन्छ । जस्तै बोक्सि भनी दिशा पिसाब खुवाउने, पिट्ने, गाउँ निकाला गर्ने, चारपाटा मुड्ने, पानी काड्ने, हत्या, हिंसा, बलत्कार गर्ने, परिवारका सदस्यको मृत्यु भएमा घर भित्रकै सदस्यलाई आरोप प्रत्यारोप लगाउने वा अरु छिमेकीलाई दोष लगाइ छर-छिमेकमा नकारात्मक भ्रमहरु फैलाएर समाज बिथोल्ने परिपाटी चलिआएको छ । अशिक्षा, अन्धविश्वासको कारणले गर्दा यस्ता समस्याहरुको निराकरण गर्न समाजमा अप्ठ्यारो पर्दै आएको छ । तर असल छिमेकीले यस्ता किसिमका बाधा व्यवधानको पर्वाह नगरी समाजलाई उन्नति प्रगतितिर लैजान सक्छ । समाज र सामाजिक स्थिती, आर्थिक, धार्मिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा अगाडि बढाउनका साथै कमी कमजोरीको छानविन गरी सुमार्ग प्रदान गर्न असल समाज, असल छिमेकीको अति नै आवश्यकता महसुस हुन्छ । एउटा असल छिमेकीले हजारौं घर परिवारलाई समेटी असल कार्य गर्न प्रेरणा प्रदान गर्दछ ।

मानिसको पहिलो पाठशाला भनेको घर परिवार र समाज नै हो । मानिसले जन्मने, हुर्कने क्रममा देखेर, सुनेर उसले हरेक क्रियाकलापहरु त्यहीबाट सिकिरहेको हुन्छ । शारिरिक, मानसिक, संवेगात्मक र बोद्धिक क्षमताको विकास पनि घर, परिवार र छर-छिमेकबाट सिकिरहेका हुन्छ । साथीसँग खेल्ने डुल्ने, हिड्ने क्रममा उसका सिकाइहरु सही वा गलत कस्ता छन्, भन्ने कुराको चासो राख्न परिवारका मुख्य सदस्यहरुको अहम भूमिका हुन्छ । शिक्षाको पहुँच समाजसम्म पुर्याउनका लागि पनि समाजमा असल छिमेकीको ठूलो हात हुन्छ । सही कदम चाल्न सिकाउने असल मित्र छिमेकी नै बन्न पुग्छ । समाजिक जीवनमा नभई नहुने नौलो पाठ असल बानी व्यवहार, सरसफाइ, अनुशासन जस्ता गुणहरु असल छिमेकीबाट सिक्न सकिन्छ । समाजका हरेक व्यक्तिले सम्मान पूर्ण व्यवहार, सद्भाव आदान-प्रदान गर्ने बानीको विकास गर्नुपर्छ । बेलाबेलामा समाजका विकृतिहरुको नियन्त्रण गर्न सेमिनार, गोष्ठी र छलफल जस्ता कार्यक्रमहरु गरी समाजका व्यक्तिहरुको सकृय सहभागी गराई अगाडि बढ्ने हौसला प्रदान गर्नु पर्दछ ।

स्वच्छ समाज बनाइ स्वच्छ वातावरणको निर्माण गर्नु पर्दछ । समाजमा ठूलो, सानो, धनी, गरिव जस्ता भावनाको अन्त्य गरी “एकता नै बल हो” हामी सबै एउटै समाजका एउटै व्यक्ति हौं, भन्ने भावनाको विजारोपण गर्नु अति नै महत्वपूर्ण कुरा हो । हामीले राम्रो नगरे समाज सुध्रदैन भनी विभिन्न किसिमका जघन्य अपराधहरु रोकथाम गर्न त्यही समाजका व्यक्तिहरुको आचरणमा सुधार ल्याउनुपर्छ ।
बालबालिकाहरुको दोस्रो पाठशाला भनेको उनीहरुको पढ्ने निजी पाठशाला हो । त्यो पाठशाला जानुभन्दा पहिले उसले सहपाठीहरुको संगत र विभिन्न कुराहरुको ज्ञान समाज र घर छिमेकबाट सिकिरहेको हुन्छ । बालबालिकाहरुमा सकारात्मक र नकारात्मक प्रभावहरु घर, परिवार र छिमेकबाट चाँडो सिक्ने हुनाले समयमै सकारात्मक घर परिवार र समाज निर्माण गर्नु आजको आवश्यकता हो । समाजमा जातीभेद, रगंभेद, दास-दासीको प्रचलन शोषणले विभिन्न किसिमका समस्याहरु निम्त्याउने गर्दछ । यस्ता समस्याहरुको पहिचान गरी समयमै सचेत हुनु हाम्रो समाजका व्यक्तिहरुको चेतनाको स्तर बृद्घि हुनु हो । सामाजिक अवस्था नाजुक भएर पृथक हुँदै गईरहेको अवस्थामा असल छिमेकीले राम्रो सहयोग गर्न सक्छन् ।

छिमेकी भनेका परिवारका सदस्य जस्तै हुन् । शिस्टाचार र सहिस्णुता देखाउनु पर्दछ । असल छिमेकी उदार हुन्छन् । छिमेकीहरुले गर्नुृपर्ने कर्तव्य भनेको साना-ठूला, दयालु कार्यहरु सौहार्द वातावरणमा स्थापना गर्नु र कायम राख्नु हो । असल छिमेकी विशेषगरी विपत्ती आइपर्दा बहुमूल्य सम्पति सावित हुन्छन् । दुःखको समयमा असल छिमेकी कस्तो हुनुपर्छ भन्ने कुरा प्रस्ट देखिन्छ । घर छिमेक सबै विपत्तिको सिकार हुँदा असल छिमेकीले सहयोग गर्न र एक अर्काको लागि मरिमेट्न उत्प्रेरित भएको देखिन्छ ।

असल समाजले एउटा राष्ट्रलाई पनि थप प्रेरणा प्रदान गर्ने अवसर दिन सक्छ । असल छिमेकी असल समाज सबैको पाठशाला बन्न सक्छ । मानव जीवनका तीता-मीठा अनुभवहरु समाज र समाज कै व्यक्तिबाट उत्पन्न हने भएकाले हामीमा अहंकाररहित, सच्चा, नैतिकवान, इमान्दारीता र अनुशासन जस्ता गुणहरु हुनुपर्दछ । असल समाज निर्माणका लागि असल छिमेकी हुनु अति नै जरुरी हुन्छ । असल छिमेकी समाजको उदाहरणीय गहना हो । यसले असल राष्ट्रको निर्माणका लागि ठूलो सहयोग गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!