- शुष्मा ढकाल

धनी र गरिबले खाने गाँस अनि
त्यो गासँको मिठास फरक होला
तर भोक दुबैको एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती छ हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनुहोला ।

धनी र गरिब मरेपछि
मलामीको लर्कन फरक होला
तर बाँच्दाको मुटुको धड्कन एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई पैसामा
मोतलोल नगरिदिनु होला ।

धनीले फेर्ने सासमा पैसाले
थुपारिदिएको सहास थुप्रै होला
अनि गरिबले फेर्ने सासमा
अभावले थुपारिदिएको निराशा थुप्रै होला
तर श्वासप्रश्वाश एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनुहोला ।

धनीले लगाएको कपडामा महङ्गो ट्याग होला
अनि गरिबले लगाएको कपडामा मेहनतको
पसिनाको अमिलो दाग होला
तर दुबैको छोप्ने लाज एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनुहोला ।

धनी र गरिबको निवास
अनी निवासभित्रको विलास फरक होला ।
गरिबको सुत्ने झुपडी होला
धनीको सुत्ने महल होला
तर थकानपछिको निन्द्रादेविको आभाष एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई पैसामा
मोलतोल नगरिदिनु होला ।

धनी र गरिबले आफ्नो सन्तानलाई किनिदिएको
मिठाईको भाऊ फरक होला
तर त्यसमा मिसिएको ममताको मिठास एउटै हुन्छ ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनुहोला ।

गरिब र धनीको काम फरक होला
गरिबको ठेलामा सब्जी बेच्दै हिड्ने होला
धनीले चिल्ला कारमा चढी अफिस जाने होला
तर त्यही गरिबको मेहनतले ल्याएको सागसब्जीले धनीको भान्सा चलेको होला ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनु होला ।

आखिर किन गर्छौ घमण्ड
धनी छु भनि
भोली मर्ने दिन आएपछि त
पैसाले पनी धनीको आयु किन्दैन होला ।
गरिब भनि नगरिदिनु हेला
बिन्ती छ हरेक चिजलाई
पैसामा मोलतोल नगरिदिनु होला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!