- शुष्मा ढकाल

जहाँ
आधा पेट खाए पनि
बाँच्न सकिन्छ ।
आफ्नो कोही नभएनी
हाँस्न सकिन्छ ।
जीवनको मज्जा लिई
बाँच्न सकिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

त्यहाँ
अनेकतामा एकता
देख्न सकिन्छ ।
सबको हातमा हात
काँधमा काँध
भएको भेट्न सकिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

जहाँ
माया आदर र सत्कारको संगम देख्न सकिन्छ ।
धर्म, कर्म र मर्म सिक्न सकिन्छ ।
ईतिहास, वर्तमान र भविष्य
पढ्न सकिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

जहाँ
एभोकार्डाेको राजधानी
देख्न सकिन्छ ।
सुन्तला र जुनारको सुगन्धले
मनै लोभिन्छ ।
ताजा–ताजा सागसब्जी
त्यही पाईन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

त्यहाँ
पूर्व हेर्दा राजारानी
पश्चिम नाम्चे देखिन्छ ।
उत्तर हेर्दा तमोर नदी
दक्षिण गुराँसे डाँडा भेटिन्छ ।
भेडेटारको डाँडामा बसी
संसार हेर्न सकिन्छ ।
त्यहाँका सुन्दर दृश्यले
सबैको मन लोभिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

जहाँ
विभिन्न धार्मीक सम्पदाका
मठ–मन्दिरहरू पुज्न सकिन्छ ।
चित्रे डाँडा पुगेर तल हेर्दा
अरूण नदी देखिन्छ ।
बिहानै उठेर आँगनीमा निस्कदा
मकालु हिमाल देख्न सकिन्छ ।
हरियाली वन जंगलको स्वच्छ हावा लिन सकिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेटिन्छ ।

कसैलाई गर्मी मनपर्छ भने
तराई झर्न सकिन्छ ।
चिसो मनपर्छ भने
हिमाल चढ्न सकिन्छ ।
दुबै गाह्रो हुन्छ भने
पहाड भेट्न सकिन्छ ।
खोज्दै जाऊ मेरो जन्मभूमी धनकुटा त्यही भेट्न सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!