- ईश्वर थापा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विभागमा धनकुटाका हेमराज भण्डारीसहित २ जना मनोनित भएका छन् । नेकपा स्थायी कमिटीको बैठकले पार्टीको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागमा भण्डारीसहित ज्ञानबहादुर भुजेललाई सिफारिस गरेको थियो ।

स्थायी कमिटीबाट सिफारिस भण्डारी र भुजेल पार्टीको संगठन विभाग सदस्यमा मनोनित भएको नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए । भण्डारी नेकपाको केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज हुन् । उनी तीन दशक यता राजनीतिमा सक्रिय छन् ।

नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गरेका भण्डारी तत्कालिन नेकपा माओवादीको जनयुद्ध हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि भण्डारी माओवादी केन्द्रको संगठन विभाग सचिव तथा पोलिटव्युरो सदस्य थिए । यस्तै भुजेल तत्कालिन एमालेका संगठन विभाग सचिव थिए ।

दुई जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग १८ सदस्यीय भएको छ । नेकपाको संगठन विभाग गठनको क्रममा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ मात्र थिए । त्यसपछि संगठन बिस्तार गरी १८ सदस्य पुर्याईएको नेकपाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!