- संगालोखबर सम्बाददाता

धनकुटा । सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित खुला अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जिवी सिग्देल प्रथम भएका छन् । प्रतियोगिताको घोषित नतिजा अनुसार बाराकी सरु बस्नेत द्वितीय, झापाका हरि पराजुली तृतीय घोषित भए । यस्तै, प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् ।

Advertisement

गत मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको आयोजक संस्था सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले जानकारी दिए । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु पोखरेल र टीका आत्रेय रहेका थिए ।

नजिताको घोषणा गर्दै निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजल प्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । नजिता सार्वजनिक कार्यक्रममा राईटर ईन्टरनेशनल युएसएका अध्यक्ष अग्रज साहित्यकार गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गरेका थिए । सोहि अवसरमा चर्चित गायक कुवेर राई, साहित्यकार डीपी परिश्रमी लगायतले अनलाईन मार्फत नै प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा १७ प्रतियोगी र ५ अप्रतियोगीको सहभागीता थियो । विजेताले नगद सहित जनहि दुई हजार मुल्य बराबरका साहित्यिक पुस्तक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। पुस्तक हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुरले उपलब्ध गराएको छ ।

आयोजक दुवै संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जली स्वरुप कविता वाचन र गत भानु जयन्तीमा पनि रामायण वाचन प्रतियोगिता समेत आयोजना गरेको राईटर ईन्टरनेशनल (युएसए) उपाध्यक्ष राजेन्द्र गुरागाईले जानकारी दिए । यसैगरी आगामी कात्तिक २९ गते महाकवी लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा वृहत कविता प्रतियोगिता आयोजना गरिने सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!