मेरो खुशी
फूल जस्तै फलाउन
तिमी हाँगा भएर फैलिरह्यौ
अधेरोमा आफैलाई सल्काउँदै
मलाई सधै उजेलोमै राखिरह्यौ
हरेक रात
तिमीले भन्ने गरेका बीररसका कथाहरु
सुन्दै निदाए र सपनाभरी
साहसिक युद्ध लडिरहे
ए आमा
तिमीलाई गुमाएपछी
यतिबेला
सम्झनाको बाढीसँगै बगेको छु
तिम्रा दिव्य सन्देश जस्ता
ती नीतिकथाहरुलाई
सिरान हालेर
निदाउने गरेको छु ।