- संगालोखबर सम्बाददाता

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन केन्द्र बनाउँने भएको छ । आज प्रदेश स्तरीय सीसीएमसीको भर्चुअल बैठकले आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

Advertisement

बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिईएको छ । स्थानीय पालिका, निजी क्षेत्र लगायतसँगको समन्वय र साझेदारीमा आईसोलेशन सञ्चालन हुनेछ ।

बैठकले प्रदेश भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदीलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसंग समन्वयात्मक रुपमा अगाडी बढ्ने नीति लिएको छ । बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतीनगर इलाम, रंगेली मोरङ, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णयसमेत गरेको छ ।

भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन गरिने भएको छ । यता, उदयपुरको नेत्र ज्योति संघद्वारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताललाई अनुमतिसमेत बैठकले दिएको छ । बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियानलाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरीमा लागू हुने प्रदेश सरकारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!