- रासस

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो ।

शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो । सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्क तालिकाको पुछारमै सीमित बनेको छ । जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ ।

सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै छ अङ्क बटुलेको छ । सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अङ्क हासिल गरेको छ । लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ ।

शनिबार छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे । सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन । उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेका हुन् । उनले हालसम्म छ खेलमा नौ विकेट लिनुभएको छ । सेन्ट किट्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । उनले इभेन लुइस र इस सोढीको विकेट लिएका हुन् ।

टस जितेर जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनायो । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले अविवित ७९ रन बनाए । उनले यसक्रममा ६१ बल खेल्दै छ छक्का तथा दुई चौका प्रहार गरे । यस्तै जर्मेन ब्ल्याकउडले २७, नकु्रम बोनरले १६ तथा आशिफ अलीले १४ रनको योगदान दिए । बलिङतर्फ सेन्ट किट्सका रियाद इमरितले तीन विकेट लिए ।

जमैकाका बलर सन्दीप तथा कार्लोस ब्रेथह्वाइट, फिडेल एडवार्ड, भिरासम्मी परमुलले सेन्ट किट्सको ब्याटिङ लाइन ध्वस्त पारे । कार्लोसले तीन तथा एडवार्ड र परमुलले सेन्ट किट्सको दुई दुई विकेट लिए। मुजिबउर रहमानले एक विकेट लिए । ब्याटिङतर्फ सेन्ट किट्सका लागि केइरन पउलले २१, इभेन लुइसले २१, निक केलीले १६, डेनिस रामदिनले १३ तथा इमरान खानले १० रन बनाए । अब सन्दीपको टोली जमैकाले आफ्नो सातौँ खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सीपीएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानेछन् । यस यामको आइपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभई युएईमा हुँदैछ । सन्दीपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्नेछन् । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!