चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।

उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमानै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो ।

तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए । अन्य तीनजनाको अवस्था भने सामान्य रहेको छ । काठमाडौँबाट धनगढी जान तीव्रगतिमा आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।

बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!