अर्जुनमणि आ.दीक्षित

“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाइ खुवाउने त होला नी ? यस्तो चिसो ठाँउमा गर्मी महिनामा बाटोमा हिड्नेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?” पहाडको उकालीमा रमाइलो मान्दै हिडिरहेका हामी मध्ये एकजनाले सडक छेउ मै लटरम्म गोलभेँडा फलेको, खोल्सामा झरेका गालभेँडाका राता दानाहरु अनि राताम्यै देखिएको खेतवारीमा गोडमेल गरिरहेकी एक जना महिलालाइ यो प्रश्न सोधेका थियौ । प्रत्यूत्तरमा महिलाकै मुखबाट झरेका लवजहरु यस्ता थिए –
“बाटोमा हिड्ने कसैले पनि यिनी गोलभेंडाहरु काँचै टिपेर खादैनन्, यसमा औषधि हालेको छ भन्ने सबैलाइ थाहा छ । औषधि हालेको फल खुवाएमा गाइवस्तु पनि बिरामी पर्दा रहेछन् । घरका केटाकेटीलाइ पनि “खायौ भने तिमीहरु मर्छौ” भनी तर्साएका छौं, अब त बुझ्ने भैसके ।”

Advertisement

चारदेखि पाँच फिटसम्म अग्लो बाँसको कप्टेरोले थाँक्रो दिएर लहरै ड्याँगमा उम्रेका गोलभेँडाको खेती लटरम्म देखिए पछि रहरलाग्दो नदेखिने कुरै आएन । चीसो मौसममा सुकेका झ्यांगको बीचमा राताराता गोलभेँडा फलेको मात्र होइन, ड्याँगको बीचको खोल्सोमा तिनै राता गोलभेँडाका डल्लाहरु निकै संख्यामा जमिनमा झरेका पनि थिए, रुखको फलफूल पाकेर जमिनमा झरेको जस्तो । आँखाले देखुञ्ज्याल फराकिलो खेतमा राताम्यै देखिने गोलभेँडाको खेती, वडो मनोरम द्दृश्य थियो । सरदर आलुभन्दा केही ठूला गोलभेंडाहरु छामेर हेर्दा अलि बढी नै सारो महसुस हुन्थ्यो ।

यो द्दृश्य हेरी रमाएका हामीले महिलालाइ सोध्यौ
“औषधि नहाले के हुन्छ?”
महिलाले दिएको जवाफ सिरिंग पार्ने खालको थियो
“औषधि नहाले फल्दै फल्दैन, फलिहाले पनि कालो हुन्छ, खानै मिल्दैन, बेच्न पनि मिल्दैन । औषधि फेरी एकपटक हालेर पुग्दैन, एक झमठ गोलभेँडा टिपी सकेपछि अर्को बाली लगाउनु अघि यी सबै झ्यांग र भूइँमा झरेका गोलभेंडाहरु जलाएर मात्रै नयाँ विरुवा रोप्न ड्यांग मिलाउँछौ अनि विरुवा रोपेपछि फेरी औषधि नहाली हुदैहुदैन ।”

धरान धनकुटा बाटोमा मूलघाट तरेपछि ठाउ–ँठाउँमा पोलिथिन प्याकमा गोलभेँडा वेच्न राखेको देखिएको थियो । एक वा दुइ किलोको प्याकको अर्डर बस भित्रैबाट दिन मिल्ने, बसको झ्यालबाटै गोलभेँडाको पारदर्शी पोलिथिन व्याग लियो, अनि झयालबाटै पैसा दियो, कति सजिलो । हाटबजारमा पनि थुप्रोका थुप्रो गोलभेँडा बेच्न राखेको देखिन्थ्यो । बसमा बसीबसी किन्ने मोल र हाटबजारमा किन्ने मोलमा धेरै फरक पर्दोरहेनछ । एउटा वोटमा आठ किलोसम्मको गोलभेँडा फल्ने कुरा स्थानीय वासिन्दा भन्थे । गोलभेँडा बाह्रैमास फलाउन सकिने तरकारी रहेछ । धनकुटाभरि करिव सबैजसोको जग्गामा गोलभेँडा खेतिगर्ने गरेको कारणबाट उत्पादन प्रशस्त हुँदा पनि बजारको समस्या महसुस भएको देखिएन । दक्षिणमा जोगवनी हुदै र पूर्वमा काकडभिटृा हुँदै भारतसम्म दिनहुँ गोलभेँडाको खेप ओसारिने गरेको रहेछ । महिलाको फूटेका हातलाइ देखाएर हामीले सोध्यौ, “औषधि हाल्दा हातमा पञ्जा लगाउने गरेको छैन?” आफ्नो हात हेर्दै उनले भनिन् “खेतवारीमा काम गर्ने मान्छेको हात यस्तै त हो नी !”

औषधि छर्कदा मुखमा मास्क लगाउनु पर्ने अनि हातमा पञ्जा लगाउनु पर्ने कुरा अहिलेसम्म कसैले सल्लाह दिएजस्तो लागेन । किसानको औषधि किन्ने ठाउँ गाउँठाउँकै वा जिल्ला सदरमुकामको भेटेरिनरी पसल रहेछ । भेटेरिनरी डाक्टरले दिनुपर्ने सल्लाह र प्रयोग गर्नुपर्ने औषधि एवं औषधिको मात्राका बारेमा पसलेलाइ नै विश्वास गर्नुपर्ने प्रचलन भनौ वा बाध्यता रहेछ । मास्क नलगाएको कारणबाट किसानको श्वासप्रस्वासमा पारेको असर त भोलीका दिनमा डाक्टर कंहाँ जानुपर्दा मात्रै यी विचराहरुलाइ थाहा हुने भो, तर पञ्जा नलगाएको कारणबाट हातको छाला फुटेको चाँही किसानले पचाइसकेको जस्तो लाग्यो ।

गोलभेँडा खेतीका बारेमा यति कुराको अनुभूति गरेपछि झटृ मनमा उव्जने तीनचार वटा कुरामध्ये घरको भान्सामा गोलभेंडा पोलेर बनाएको वा सिसीमा हालेर बनाएको अचारको परिकार, आयातित प्रचलन अनुसार पार्टीमा सजाएर राख्नुपर्ने “सलाद” मा मिसिएको काँचो गोलभेँडा अनि घरका केटाकेटीले पाउरोटी (वर्गर) को बीच भागमा राखेको काँचो गोलभेँडाले सबैको मन बिझाउने नै भो । कुखुरा होस् वा खसी, मासुमा गोलभेँडा नहाली कुनै पनि परिकार बन्दैन भन्नेलाइ त झनै मन सिरिंग हुँदोहोला ।

कृषि पेशा खेतीमा अनि खेती जमिनमा निर्भर रहने सर्वविदितै कुरा हो । खेतीको लागि खेतबारीको उर्वराशक्ति घट्दै गयो भने किसानको जीवीका मै गहिरो असर पर्दछ । आजसम्म किसानले जे कुरालाइ “औषधि” मानेका छन् त्यो वास्तवमा औषधि होइन,“विषादीयुक्त रसाउन” हो, यसले माटोको उर्वराशक्ति क्रमशः डढाउँदै जान्छ भन्ने कुरा नबुझ्दासम्म समस्याको समाधान पहिल्याउन सजिलो छैन । विषादीलाइ औषधि मानेर मलखादको रुपमा निरन्तर प्रयोग हुँदैआएको यतिका अवधि बितिसकेको छ । यतिञ्जेलसम्म कृषकले बुझ्ने भाषामा यो गर्नुहुने अनि यो चांँही गर्न नहुने भनी सरकारीस्तरमा प्रचारप्रसार नहुनुलाइ अत्यन्त खेदजनक मान्नुपर्ने हुन्छ । खाना खानु अघि साबुनले हात धुनुपर्दछ भनी टेलिभिजनबाट आउने विज्ञापन अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट प्रायोजित गर्न मिल्ने अनि खानेकुराको विषादी प्रयोगका बारेमा जनताको चेतना अभिबृद्धि गर्ने काम कुरामा चुँ नबोल्ने सरकारी रवैयालाइ विडम्वनापूर्ण मान्नुपर्दछ ।

राजनीति गर्ने आडमा भारतले विषादी परीक्षण गर्न दिएन भनी कोकोहोलो गर्ने गैरसरकारी संगठन एवं राजनीतिक दलको व्यबहार पनि वद्नियतपूर्ण रह्यो । आफ्नै घर आँगनमा निरीह किसानले विषादीको व्यापार गरेको यिनको जानकारीमा नआएकै होला त? जनताको जिउ ज्यानको सुरक्षा गर्छु भनेर सिंहासनमा बस्ने सरकारबाट यो तथ्य लुकेको होला भनी कसरी लख् काड्नु ? यतातिर सरकारले पुरै आँखा चिम्लेर बसेको प्रतित भएको छ । यो विषयमा जति मात्रामा सरकार दोषी छ त्यति नै वा त्योभन्दा बढी गैरसरकारी संगठन एवं राजनीतिक दलहरु दोषी छन् । कहिलेकंही मिठाइ पसलमा वा किराना पसलमा अखाद्य मिसिएको खानेकुरा वा म्याद गुज्रेको खाद्यवस्तु बजार निरीक्षणको क्रममा फेला परेको भनी सरकारले हल्ला गरेको नसुनिएको होइन, तर कसैले कारबाही भोग्नुपरेको आजसम्म सुनिएको छैन । यो विषयमा गैरसरकारी संगठन एवं राजनीतिक दल मौन बसेको कुरा जनताले हेक्कामा राखेका छन् ।

केही वर्ष अघिसम्म अर्थात किसानको खेतबारीमा कम्पोष्ट मलको प्रयोग गर्दासम्म जनसाधारणको स्वास्थ्यमा कुनै किसिमको जोखिम देखिएको थिएन । कीरा लागेको अवस्थामा किराफट्यांग्राबाट बचाउनको लागि घरेलुस्तरमा तयार पारिने टिम्मुरको पात र नीमको पात झोल बनाइ छर्कने, गाईको गहुँत छर्कने आदि वा आ आफ्नै तरिकाबाट तयार भएको औषधिमूलोबाट हुनेगरेको काम नै प्रभावकारी थियो । विस्तार–विस्तार कम्पोष्ट मल कम मात्रामा उपलव्ध हुन थाल्यो, नीमको पात अनि गाईको गहुँत भनेजति पाइन छोड्यो । वैकल्पिक उपाय अपनाउन किसानलाइ अप्ठेरो पर्न थाल्यो वा संभव भएन । यँहादेखि बढी उव्जाउको लोभमा किसानको युरिया मल प्रतिको आकर्षण बढ्न थालेको हुनुपर्दछ । अहिले त युरिया मलको प्रयोग तरकारीको हरियोपना देखाउनको लागि मात्र प्रयोग हुदोरहेछ ।

अहिलेको अवस्थामा DAT (मसिनो दानायुक्त मल) को प्रयोग गर्न थालिएको पनि देखियो । यसको अतिरिक्त बजारमा खुल्ल्मखुल्ला अनि जति मात्रामा चाहिए पनि किड स्टार धुलो र झोल,M45 धुलो, साइवर मेथिन झोल, अल्फा मेथिन झोल, रियल स्टार धुलो, किड.रकेट धुलो, त्रिकाल झोल, किड. मियल धुलो किड.सिड M आदि विषादीहरु किन्न पाइने रहेछ । यिनै औषधि (विषादी) किसानको खेतबारीमा निर्वाध रुपमा प्रयोग भैरहेको छ । तोकिएको मात्रा ननाघ्ने गरी प्रयोग गर्दा यी विषादीलाई “विषादी” नभनौ भन्ने भनाइ खेतीकिसानी गर्नेको रहेको छ । यसलाइ उदाहरणको रुपमा भन्नुपर्दा रियल स्टारको धुलो १६ लिटर पानीमा ५ ग्रामसम्म हाल्न मिल्ने तर १६ लिटर पानी मै १० ग्रामसम्म हाल्यो भने उँहाहरुकै भनाइमा त्यो शुद्ध विष हो । यसरी मुखले चांँही धेरै मात्रामा प्रयोग गर्नु विषादी हो भन्ने तर्क प्रस्तुत गर्दै थोरै प्रयोग गर्नु हाम्रो बाध्यता हो भन्न जानेका किसानले नै आफ्नो खेतबारीमा विषादी छर्किरहेका छन् । सुरुमा अमुक फसलको लागि अमुक व्राण्डको विषादी प्रयोग गर्ने र अमुक मात्रामा प्रयोग गर्ने तरिका किसानले भटेरिनरी औषधि पसलबाटै जानकारी लिनेगरेको देखियो ।

पसलबाट पाएको जानकारीको आधारमा प्रयोग गरेको (औषधि) विषादीबाट किसानको खेतबारीमा वाञ्छित फसल भएन भने किसानले विषादीको मात्रा आफ्नै तजवीजमा बढाइरहेका रहेछन्, यसरी मात्रा बढाउनुलाइ स्वाभाविकै भन्नैपर्यो । औषधि नहालेको खण्डमा फल्दै फल्दैन, फलिहाले पनि कालो हुन्छ, महिला कृषकले भनेको माथिको प्रसंगमा “रियल स्टार” को धुलोको मात्रा बढी भएमा दाना कालो हुने र फल कुहिने कुरालाइ एक अर्कामा गाँस्दा वर्तमानमा किसानले औषधिको प्रयोग बढी मात्रामा गरिरहेका रहेछन् भन्ने कुरा प्रमाणित भएको छ । कुन विषादीको मात्रा कति हुनुपर्ने र कति भयो भने उत्पादनमा के असर पर्छ भन्ने बारेमा स्थानीय कृषकसँग सोधखोज गर्दा निम्न जानकारी प्राप्त भएको थियोः

यसरी मात्रा बढाउँदाको जोखिम बारे किसानलाइ बुझाइदिने कोही नहुने हो भने यसको असर भयावह हुँदै किन नजावस ?
नबिर्सौ, यो समस्या धनकुटाको मात्र होइन, समग्र पूर्वी पहाडी भेगमा सबैले व्यहोरेको हुनुपर्दछ । यति कुराको जानकारी भएपछि सरकारले प्रथमतः प्रत्येक दलहन, तेलहन, अन्न तथा तरकारीमा विषादीको मात्रा र मापदण्ड तोक्नै पर्ने भो । त्यसपछि मापदण्डभन्दा बढी प्रयोग गरेको जतिमा चेकजाँच गर्नुपर्यो अनि बढी प्रयोग गरेको अवस्थामा दण्डसजाय पनि गर्नुपर्ने भो । यस्तो भयावह असरका बारेमा सरकारलाइ जानकारी हुँदाहुँदै समस्या समाधानको लागि पहल गरिदैन भने यसबाट हुनजाने जनताको जिउज्यानमाथिको हदैसम्मको खेलांची क्षम्य हुदैन । लोककल्याणकारी राज्यमा यसो हुनु हुदैनथ्यो ।

मूलुकमा प्रचलनमा रहेको कानून विपरित निजी जग्गामा लगाएको गाँजा फडान गर्न सकिन्छ भने तोकिएको मात्राभन्दा बढी विषादी मिसाएको अपराधमा दण्डित गर्न नमिल्ने पनि हुदैन । गाँजा फाड्न सजिलो अनि विषादी नियन्त्रण गर्न खेतवारीपिच्छे चेकजाँच गर्न गाहृो हुन्छ भन्ने कुराको आडमा यसलाइ सरकारले परिभ्राट महसुस गरेको छ भने त्यो सर्वथा अनुचित हो । अहिलको अवस्थामा सरकारको रवैया हेर्दा त सरकार आफैले अनियन्त्रित रुपमा विषादी प्रयोग गर्न वढावा दिए जस्तो पो प्रतित भएको छ ।

सरकारले गर्नुपर्ने काम समयमै नगरेको भनी हामीले एकातिर दोषारोपण गरिरहने अनि सरकारचांहि सबै कुरा जानिबुझिकन पनि केही नगरी बसीरहनुलाई सरकारको अकर्मण्यता मान्नुपर्दछ । यसबाट जनताको जिउज्यानमा परिरहेको प्रतिकूल असर बारे सबै तैँ चुप मै चुप बस्नु एक किसिमको अपराध मात्र होइन, पाप नै हो । संघीय संरचनामा जनताको दैनिकीसँग सम्बन्धित कामहरु हाम्रो दैलोमा अर्थात स्थानीय तहमै सम्पादन होस भनी सरकारको उपस्थिति रहेको अहिलेको अवस्थामा पनि यी कुराहरु सम्बोधन भएन भने यसलाइ विडम्वनापूर्ण मान्नुपर्दछ । हाल सरकारी तलव खाएर हाम्रै वरिपरी कृषि बिज्ञ छन् जसले विषादी भनेको के हो, विषादी र औषधिमा के फरक छ, यसको प्रयोग वा सेवनले पार्ने असर कस्तो हो, के गरे वा नगरेमा यसको असर कस्तो रहन्छ आदि कुराहरु आधिकारिक ढंगले वुझाइदिने हैसियत राख्दछन् । यिनको प्रत्यक्ष संलग्नताबाट प्रभावकारी ढंगले प्रचार प्रसार हुने हो भने त्यसैको फलस्वरुप किसानको चेतनाको स्तर उकासिन्छ । किसानले आफै आश्वस्त भै के गर्दा ठीक वा वेठीक छुट्याउने अवस्थामा पुगेको अर्थात विवेक प्रयोग गर्ने अवस्थामा पुग्दाको अनुभूतिले किसान आफै चेतनशील हुने मात्र होइन, आफनो वरिपरी गाउँठाउँका वासिन्दालाइ के गर्नुपर्ने र के गर्ननहुने बुझाइदिने हैसियत पनि राख्दछन् । त्यसैले अहिलेको आवश्यकता भनेको किसानलाइ उसको अज्ञानताले गर्दा आफ्नै जीवीकाको श्रोत अर्थात जानाजानी माटोको उर्वरा शक्ति नष्ट गरिरहेको कुराको अनुभूति दिलाउनु हो । साथै किसानले वैयक्तिक रुपमा जानी वा नजानी गरिरहेको खेती सम्बन्धी व्यबहारले क्रेताको रुपमा रहेका जनताले विषादी सेवन गरिरहनु परेको तीतो सत्यको अनुभूति दिलाउनु पनि हो ।

यो कुरा सरकारीस्तरबाट हुने संभावित दण्डको माध्यमबाट उव्जने त्रासबाट मात्र संभव छैन । किनभने त्रासको भरमा भए गरेको कामकुरा दिगो हुदैन । हाम्रो उद्देश्य किसानको मनमा के उपयुक्त र के अनुपयुक्त भन्ने कुराको छाप मनोवैज्ञानिक ढंगले अमिट रुपमा छोड्नु रहेको छ । हिजोसम्म हामीभन्दा माथिको पिंढीलाइ गाउँघरको शुद्ध खानेकुरा एवं दुधदही खाएको शरीर भनी हामी तन्दुरुस्त मान्थ्यौ । कतिपय बुढाहरु आप्mनो शरीर तन्दुरुस्त राख्न सकेकोमा गर्व गर्ने हामीमध्ये जीवीतै छन् । हाम्रा सन्तान चाँही अहिले केटाकेटी उमेरदेखि नै विषादी सेवन गर्न बाध्य हुन्छन् भने भोली यिनको के गति होला ? रोगी पिंढीका रुपमा बाँच्न बाध्य यिनले आफ्नो सुरक्षा कसरी गर्लान ? परिवार कसरी हुर्काउलान् ? समाज र मूलुकको विकासमा के योगदान देलान् ? कहालिलाग्दो स्थितिको अनुभूति सबैलाई हुनु पर्ने हो ।

मेरा सन्तान निरोगी हुन् भन्ने चाहना सबैलाई हुन्छ । निरोगी रहन के गर्नुपर्छ अनि के गर्नु हुन्न अलिकति सरकारले सिकाइदिनु पर्यो अलिकति आफै जान्नुपर्ने भो । त्यसो भनेर सरकारीस्तरबाट नियम कानून बनाउने, मापदण्ड तोक्ने, दण्ड सजायको व्यबस्था गर्ने आदि कामकुरालाइ अलग्याउन खोजेको अर्थ नलागोस । सरकारले निरोधात्मक ढंगबाट गर्नुपर्ने आफ्नो काम पनि गर्दै जानुपर्यो र त्योभन्दा पनि बढ्ता प्रतिकारात्मक रुपमा जनताले बुझ्ने गरी विषादीको असर र रोकथामका बारे उपयुक्त ढंगले अघि बढाउँदै जानुपर्ने भयो ।

यो काम निकै अघिनै प्रारम्भ गर्नुपर्ने थियो । जे होस, राम्रो काम जहिल्यै सुरु गरे पनि त्यो यथासमयमै गरेको ठहरिन्छ । अबचाहिँ अवेर नगरौँ …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!