धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ ।
हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिरालाललाई पाँच महिना यता कोरोनाका कारण भईरहेको अस्तव्यस्त दैनिकीले पिरोलेको छ । सारंगी रेटेर २ श्रीमती, छोरा–बुहारी र २ जना नातीनातिनीलाई दुई छाकको जोहो गर्दै आएका हिरालाल अहिले दैनिक गुजारा चलाउन निक्कै गाह्रो भएको वताउँछन् । ‘पहिले त ठिकै थियो, अहिले शहर बजारमा डुलेर सारंगी बजाउँन दिदैनन् । सारंगी नबजाई के गरेर खानु ?’ सारंगी रेट्दै धनकुटाको फोक्लेण्डटापु पुगेका उनी भन्छन्,–‘रोग लाग्छ भनेर बस्दा बस्दै भोकले मर्न लागियो, त्यही भएर खाने मेलो गर्न सारंगी लिएर गाउँ पसेको हुँ ।’
पुर्खेली घर भोजपुरको जरायोटार भएपनि उनी धनकुटा जिल्लाका बिभिन्न ठाउँमा बसोबास गर्न थालेको २०४६ साल देखि हो । त्यसयता उनी धनकुटामै छन् । दैनिक जसो हाटवजार गएर सारंगी वजाई २/४ सय बटुलेर परिवार पाल्दै आएका उनी अहिले केही सिप नलागेपछि गाउँ पसेका छन् । शहरी क्षेत्रमा प्रहरीले सारंगी वजाउन नदिने भएपछि उनी नगरकै भित्री ग्रामिण बस्तीमा पसेर सारंगी रेटेर पैसाको जोहो गर्न थालेका हुन् । तर, गाउँमा पनि कोरोना सार्न किन आएको भन्दै कतिपयले गाली गर्ने गरेको उनले गुनासो गरे । परिवारमा आम्दानीको माध्यम उनी मात्र हुन् । उ बाहेक परिवारका अरुलाई सारंगी रेटेर गीत गाउँन आउँदैन । आम्दानीको अन्य माध्यम पनि छैन । पाँच महिना यता पेट पाल्ने मेलो केही नभएपछि बाध्य भएर गाउँ पस्नु परेको उनले बताए ।
सहज अवस्था हुँदा उनले कुनै बेला सारंगी रेटेरै दिनमा पाँच हजारसम्म पनि कमाउँथे । पाँच महिना यता आम्दानी ठप्प भएपछि पुनः गाउँ पसेका उनले केही दिन यता दैनिक ५ सयदेखि १ हजार रुपयाँसम्म संकलन गरेर गुजारा चलाउँन थालेका छन् । तर, कोरोना फैलदै गएमा गाउँमा पनि कहिलेबाट सारंगी रेट्न नदिने हुन् र छाक टार्न समस्या पर्ला भन्ने पीडाले उनलाई सताउँने गरेको छ ।