डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले एक तहमा जित हासिल गर्दै साख जोगाएको छ ।

Advertisement

माओवादी केन्द्रले जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित्दै आफ्नो साख जोगाएको हो ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी नेता उमेशप्रसाद भट्ट ‘विकास’ निर्वाचित भए । उनले २ हजार ६ सय ९० मत पाए । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी कलावती भाँण २ हजार १ सय ७१ मत ल्याएर विजयी भइन् । ६ वटा वडा रहेको सो गाउँपालिकाका ५ वटा वडा माओवादीले नै जितेको छ ।

को हुन् उमेशप्रसाद ?

माओवादी केन्द्रको डडेल्धुरामा साख जोगाउने भट्ट माअ‍ेवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्ट ‘विनोद’ का भाइ हुन् ।

विद्यार्थीबाट राजनीति सुरु गरेका भट्ट अहिले पनि सक्रिय राजनीतिमा छन् । उनी पत्रकार पनि हुन् । भट्ट नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सदस्य हुन् । साथै माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाको सल्हाकार समिति संयोजक समेत हुन् ।

पहिलो संविधान सभाको चुनावमा ०६४ सालमा उनका दाजु खगराज भट्टले कांग्रेस नेता शेरबहादुर देउवालाई कडा टक्कर दिएका थिए ।

जनयुद्धमा जस्तै सहयोग पाएँ, बाचाहरु पूरा गर्छुः भट्ट

अध्यक्ष पद जितिसकेपछि प्रतिक्रिया दिँदै भट्टले जनयुद्धकालमा जस्तै साथ, सहयोग र समर्थन डडेल्धुराको अजयमेरु गाउँपालिकाका मतदाताबाट पाएको बताए । उनले चुनावको बेला आफूले गरेका बाचाहरु पूरा गर्ने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्र समृद्धि र विकासको नारा सहित चुनावी अभियानमा होमिएको थियो । अजयमेरु गाउँपालिकामा ‘माओवादीको नीति, माओवादी नेतृत्वः समृद्ध अजयमेरु गाउँपालिकाका लागि विकासप्रेमी व्यक्तित्व’ भन्ने मुख्य नारा बनाइएको थियो ।

भट्टले आफ्नो जितसँगै माओवादीका एजेण्डाहरु स्थापित भएको दाबी पनि गरे ।

‘माओवादी केन्द्रले बोकेका एजेण्डाहरु लिएर जनताको माझ गएँ, अनि हाम्रो पार्टीको जित भयो’, उनले भने, ‘जसरी हामीलाई यहाँका जनताले जनयुद्धको बेला सहयोग गरेका थिए, त्यसरी नै स्थानीय चुनावमा पनि माया गरे र हामीले जित्यौं । चुनावमा गरेका सबै बाचाहरु पाँच वर्षभित्र पूरा गर्छौं ।’

‘जनताले सरकार खोज्ने अवस्था अन्त्य गर्छु’

अजयमेरु गाउँपालिकामा खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य चौकी, विद्युतीकरण र रोजगारी मुख्य समस्या छन् । यी सबै समस्या समाधान गर्न जनताले आफूलाई जिताएको भट्टको निष्कर्ष छ । उनले भने, ‘सरकारले जनता खोज्दै गाउँ-गाउँमा जानुपर्ने हो, जनताले सरकार खोज्ने अवस्था अन्त्य गर्छु ।’

साथै, उनले सरकारी कार्यालयमा टोकन प्रणालीका आधारमा काम-कारबाहीलाई अगाडि बढाउने र सुशासनको क्षेत्रमा क्षतिपूर्ति सहितको नागरिक बडापत्रलाई कडाइका साथ कार्यान्वयन गर्ने योजना सुनाए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!