गोमा ढुंगाना/संगालोखबर

बि.सं.२०७७ साल भदौ ४ गते बिहिबार ई. सं. २०२० अगस्त २०, नेपाल सम्बत ११४० गुंलागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ६ : ३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३८ मिनेट देखि ७ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछ । माया÷प्रेमको वातावरण बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन । सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ । तर आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, त)
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्र्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement