
धनकुटा । धनकुटामा अबिरल बर्षाका कारण बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गरेर राहत वितरण गर्ने प्रकृया थालिएको छ । केही दिन अघिको अबिरल बर्षाका कारण भएको क्षतिको विवरण संकलन गरेर पीडितलाई राहत वितरण गर्न प्रकृया अघि बढाइएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलन र अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उद्योग बाणिज्य संघ, रेडक्रस, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघका पदाधिकारी छन् । सो समितिले मंगलबार छथर जोरपाटी गाउँपालिकामा क्षतिको विवरण संकलन र राहत वितरणका लागि छलफल गरेको छ । सो क्रममा छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्बुले हालसम्म १३ घर पूर्ण क्षति र ६ घर आंशिक क्षति भएको र बाँकी विवरण संकलन भईरहेको जानकारी दिए । उनले पालिका स्तरबाट पनि पीडितहरुलाई राहत वितरण गरिने बताएका छन् ।

अब बाँकी छ वटा पालिकामा पनि केही दिन भित्रै छलफल गरेर राहत वितरण प्रकृया थालिने समितिका सदस्य एवं उद्योग बाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार बाढी पहिरोबाट घरमा क्षति पुगेकाहरुले राहतका लागि क्षति भएको ३० दिन भित्र पालिका स्तरीय विपद् व्यवस्थापन समितिमा निवेदन दिनु पर्छ । सो समितिमार्फत वडा, प्राविधिक र प्रहरी सम्मिलित टोलीले क्षतिको मुचुल्का गरेर आंशिक वा पूर्ण क्षति छुट्याई जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइन्छ । सो विवरणमा कुनै शंका वा उजुर परेमा जिल्लामा गठित अनुगमन समितिले अनुगमन गर्नेछ ।
बाढी पहिरोबाट घर पूर्ण रुपमा क्षती भएकाहरुलाई परिवार संख्याको आधारमा तत्काल राहत र व्यवस्थापन स्वरुप १५ हजारदेखि २० हजारसम्म उपलब्ध गराईनेछ । घर निर्माण गर्न जिल्ला विपद् व्यवस्थान समितिको बैठकले निर्णय गरी केन्द्रमा पठाउँनेछ । घर पूर्ण क्षति भएकाहरुलाई सरकारले तीन लाख रुपैयाँ उपलब्ध गराउने समिति सदस्य राईले बताए । धनकुटामा हालसम्म बाढी पहिरोबाट भएको क्षतिको यकिन विवरण संकलन भएको छैन । अब विवरण संकलन गरी राहत वितरण गरिने विपद् व्यवस्थापन समितिले जनाएको छ ।















