गुल्मी। गुल्मीका १२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितेर आफ्नो बर्चश्व स्थापित गरेको छ ।

Advertisement

एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको कुल २४ मतमध्ये एमाले एक्लैको १७ मत भएको छ ।

कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेर दोस्रो शक्ति बनेको छ । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जित्न सक्यो ।

एमालेलाई पछार्न तालमेल असफल

गुल्मीमा सत्तारुढ दुई प्रमख दल कांग्रेस र माओवादी मिलेर धेरै स्थानीय तहमा चुनाव लडेका थिए । एमालेलाई सत्तारुढ गठबन्धनले ठूलो धक्का दिने अनुमान गरिएको थियो । तर, सत्तारुढ गठबन्धनले पनि एमाले हराउन सकेन ।

गुल्मीमा सम्पन्न स्थानीय निर्वाचनको परिणाम दलहरुले आकलन गरेको भन्दा फरक हात परेको छ । वर्षौंदेखि कांग्रेसले आफ्नो ठान्दै आएका ठाउँमा एमालले जित हात पारेको छ भने केही एमालेका गड भनिने ठाउँलाई कांग्रेस माओवादीले भत्काउने प्रयास गरेका छन् ।

एमालेको बलियो ठाउँ मानिने धुर्कोट गाउँपालिका भत्काउन कांग्रेस–माओवादी सफल भएका छन् भने अन्य गाउँपालिकामा भएको तालमेलमा भने सोचे अनुरुप नतिजा हात पार्न सकेनन् ।

माओवादी कांग्रेसले एमालेको रुरु गाउँपालिकालाई भत्काउन गठबन्धन बनाए त्यहाँ मत बढाउन मात्र सफल भए तर नतिजा ल्याउन सकेनन् ।

कांग्रेस माओवादीले तालमेल भएका सत्यवती, कालिगण्डकीमा एमालेलाई केही साइजमा ल्याउने काम गरेका छन् भने छत्रकोट गाउँपालिकामा भने कांग्रेस माओवादी गठबन्धन् असफल भएको छ ।

कांग्रेस नेता चन्द्र भण्डारीको गाउँपालिकामा तालमेलले पनि एमालेलाई पराजित गराउन सकेन । यहाँ एमालेका जिल्ला अध्यक्षले जिते ।

कसले कहाँ जिते ?

रेसुङ्गा नगरपालिका उपप्रमुखमा डिल्लीराज भुसाल, उपप्रमुखमा सीता भण्डारी र मुसिकोट नगरपालिकामा प्रमुखमा एमालेका सोमनाथ सापकोटा र उपप्रमुखमा कमला शर्मा निर्वाचित भएकी छन् ।

गाउँपालिकातर्फ रुरु गाउँपालिका प्रमुखमा एमालेका नीलकण्ठ गौतम, उपप्रमुखमा एमालेकै लक्ष्मी पन्त निर्वाचित भएकी छन् । छत्रकोट गाउँपालिकाको दुवै पदमा एमालेका मधुकृष्ण पन्त, नर्मदा भण्डारी निर्वाचित भएका छन् ।

इस्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमालेका लक्ष्मण बिष्ट र बिमला खत्री निर्वाचित भएका छन् । मालिका गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका रितबहादुर थापा र देवा अर्याल निर्वाचित भएका छन् । मदाने गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका दानबहादुर केसी र सरिता खड्का निर्वाचित भए ।

निर्वाचित तहअनुसार एमालेको पक्षमा ७ तह रहेका छन् । कांग्रेसले गुल्मी दरबार गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । प्रमुख र उपप्रमुखमा क्रमशः अशोक थापा र मिना भण्डारी निर्वाचित भएका हुन् ।

चन्द्रकोट गाउँपालिकामा कांग्रेस प्रमुख र एमाले उपप्रमुखमा निर्वाचित भएको छ । प्रमुखमा दोर्ण खत्री र उपप्रमुखमा भगवती अर्यालले जितेका हुन् ।

सत्यवती गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धनको प्रमुख र उपप्रमुख एमालेकी उम्मेदवार निर्वाचित भएकी छन् । प्रमुखमा कांग्रेसका पारिश्वर ढकाल, उपप्रमुखमा एमालेकी सुर्वण शाही निर्वाचित भएका छन् ।

कालिगण्डकी गाउँपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा कांग्रेसका वेद थापा मगर, उपप्रमुख एमालेकी तारा थापा निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रले भने १ स्थानिय तहमा मात्रै जित निकाल्न सकेको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका माओवादीका भुपाल पोखरेल निर्वाचित भएका हुन् भने उपप्रमुखा कांग्रेसका शिवबहादुर खत्री निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनको परिणामअनुसार, गुल्मीमा एमाले बलियो शक्ति बनेको छ भने कांग्रेस र माओवादी कमजोर देखिएका छन् ।

पराजित स्थानीय तहमा एमाले झिनो मतान्तरले पराजित भएको छ भने धेरै स्थान कांग्रेस–माओवादी तालमेलले गुमाएको छ । गुल्मीमा २०७० सालमा सम्पन्न निर्वाचनमा तीन सिटमध्ये २ सिट कांग्रेस र १ सिट एमालेले जितेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!