संगालोखबर सम्बाददाता
फायल तस्वीर

तेह्रथुम । तेह्रथुमको आठराईमा आज बिहान ट्याक्सीले किच्दा एक युवकको मृत्यु भएको छ । आठराई–३, ह्वाकू हाँगेक्पामा बिहान करिब ९ बजे ट्याक्सीले किच्दा निघुरादिनका १७ वर्षीय रविन तामाङको मृत्यु भएको हो ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनबाट आठराई संक्रान्तिबजार जाँदै गरेको मे.१ ज.४२६ नम्बरको ट्याक्सीले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

तामाङसहित केही व्यक्ति सोही ट्याक्सीको हुटमा सवारी थिए । उकालो बाटोमा ट्याक्सी अगाडी बढ्न नसकेर पछाडी सरेपछि दुर्घटनाबाट जोगिन उनीहरु हुटबाट हामफाले । तर, ट्याक्सीको पछाडीपट्टी हामफालेका तामाङलाई सोही ट्याक्सीले किचेको हो ।

लोड तान्न नसकेर ट्याक्सी पछाडी सर्न थालेपछि हुटमा भएका अन्य व्यक्ति दायाँ–बायाँ हामफालेर जोगिएका छन् । तर, पछाडीपट्टी हामफालेका तामाङलाई भने सोही ट्याक्सीले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक थान्दारले बताए । यता, ट्याक्सी भने पछाडी ढुंगामा ठोक्किएर पल्टिनबाट जोगिएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । घटनापछि ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!