
भोजपुर । अत्याधिक वर्षाका कारण रुद्राक्षको बोटमा फल लाग्न नपाउँदै फूल झर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । वर्षाका कारण फल नलाग्दै फूल कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । पछिल्लो समय भाेजपुरकाे अर्थतन्त्रमा टेवा दिइरहेको रुद्राक्षको उत्पादन यस वर्ष भने खस्किने देखिएकाे छ ।
छिमेकी देश चीन, भारतलगायत अरु देशमा निर्यात हुने रुद्राक्ष बजारको माग अनुरुप बनाउन कृषकहरुले लाखौँ खर्च गरेर विषादीको प्रयोग गरे । तर, बाेटमै फूल नअडिएको षडानन्द नगरपालिकाका कृषक केवल साही बताउँछन् । उनी भन्छन्, ‘गत साल जस्तो दानाको फूल अडिएन यो पटक, मैलै दाना राम्रो हुन्छ भनेर औषधीसम्म लगाएको थिएँ ।’
भारत र चीन मुख्य बजार रहेको रुद्राक्ष व्यवसायलाई कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पारेको छ । कोरोनाको महामारीका कारण बाह्य देशबाट व्यापारी आउन सहज नभएपछि लगानी पनि नउठ्ने अवस्था रहेको कृषक विष्णु बस्नेतले बताए । उनले भने, ‘पानी परेका कारण पनि रुद्राक्षको फूल अडिएन, अब हामीले जति आश गरेका थियाैँ, त्यो सपनामात्र होला जस्तो भयो ।’
पछिल्लो समय रुद्राक्षमा फूल खेल्ने क्रममा विषादी लगाउनु पनि मुख्य समस्या बनेको छ । रुद्राक्षको फूल राम्रो छ तर बढी पानी र विषादीको कारण पनि फूल झरेको हुन सक्ने रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष उत्तम कट्वालको भनाई छ । उनी भन्छन्, ‘कोरोना भाइरसका कारण बाह्य देशका व्यापारी बगानसम्म आउन गाह्रो भएपनि फल नअडिएपछि उत्पादनसमेत कम हुने र मागअनुरुप उत्पादन नहुने देखिएपछि मूल्य बढ्न सक्ने अवस्था छ ।’
फल लाग्ने समयमा फूलमै कुहिएर झर्नु वर्षाकाे कारणमात्र नभएर रुद्राक्षको गुणस्तर वृद्धि गर्न भन्दै मापदण्ड विपरीतका विभिन्न विषादी प्रयोगका कारण पनि फूल नअडिएको हुन सक्ने विज्ञहरु बताउँछन् । रुद्राक्ष व्यवसाय भाेजपुरकाे आम्दानीको मुख्य स्रोत हाे ।















