
धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा आज रातीदेखि लागु हुँने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीको अध्यक्षतामा हिजोसाँझ बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
आवतजावतमा प्रतिबन्ध लगाउँन धनकुटा नगरपालिकाको वडा नं.१, ३, ४, ५, ६ र ७ मा साउन २९ गते (आज) राती १२ बजेदेखि भदौं ४ गते राती १२ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको बैठकमा सहभागि एक सदस्यले संगालोखबरलाई जानकारी दिए ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदसहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्राक्क ट्रेसिङमा धेरै व्यक्ति परेकाले निषेधित क्षेत्र घोषणा गरेर स्वाब संकलन गर्न लागिएको छ । स्वाब संकलन गरिएका व्यक्तिको रिपोर्ट नआउँदासम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाउँन निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।
बैठकको निर्णय अनुसार आज जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणाको सूचना जारी गर्नेछ । निषेधित क्षेत्र घोषणा गरिएको अवधिमा सो क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत गर्न पाईनेछैन । त्यस्तैगरी कोरोनाका २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाका व्यक्तिलाई धनकुटामा आवागमनमा रोक लगाउँनेसमेत बैठकले निर्णय गरेको छ ।
यो पनि हेर्नुहोस्…















