
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । अर्को सूचाना जारी नभएसम्मका लागि भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
बिहिबारदेखि सवारी पास वितरण रोक्नका लागि गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्रसमेत गरिसकेको छ ।
‘मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएका सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ ।’ गृहको पत्रमा भनिएको छ ।















