- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं.२०७७ साल साउन १८ गते आइतबार ई. सं. २०२० अगस्त २, नेपाल सम्बत ११४० गुल्लाथ्व चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणाायन, वर्षा ऋतु, श्रावण शुक्ल चतुर्दशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ६:५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४९ मिनेट देखि १२ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिन सक्छ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने स्थगित गर्नु ठिक हुन्छ, किनकि आज साझेदारको भर पर्नु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । आजका लागि शुभअङ्क स् ३ र शुभरङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!