संगालोखबर सम्वाददाता

काठमाडौं । धनकुटाका पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ शनिवार काठमाडौंमा सार्वजनिक गरिएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गरे ।

Advertisement

कार्यक्रममा साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा रहेको धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए । ‘धनकुटाको सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनले भने, ‘यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’

कविता संग्रहमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले धनकुटाले फैलाएको संस्कारलाई कविता संग्रहले पुनर्ताजगी गरेको बताए । उनले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गरे । उनले धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको गौंडालाई विम्वको रुपमा कवितामा पस्किएको बताए ।

कार्यक्रममा प्रकाशक संस्था पुर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव एवं साहित्यकार गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको भन्दै उनको प्रशंसा गरे ।

कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखि प्रशासनिक थलो रहदै आएको धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएकाले कविता संग्रह मार्फत आफूले पुनःस्मरण गराउन चाहेको बताए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थिए ।

धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरु मौलिक भेषभुषासहित कार्यक्रममा उपस्थिति थिए । आठपहरिया समुदायका महिलालाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् ।

कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक तथा संगालोखबरका सल्लाहकारसमेत रहेका अधिकारीको चार वर्ष अगाडि गीत संग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक भएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले पुस्तक प्रकाशन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!