- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)


बि.सं.२०७७ साल साउन १७ गते शनिबार ई. सं. २०२० अगस्त १, नेपाल सम्बत ११४० गुल्लाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ६:५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १ बजेर ५१ मिनेट देखि ५ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन। गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन। घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सोचेको काम बनाउन समय र धन दुबै पक्षमा अनावश्यक खर्च बढ्न सक्छ । व्यवसायमा थप लगानी बढाउन उपयुक्त समय छैन । लामो दूरीको यात्रा र वैदेशिक कामकाजमा पनि भनेजस्तो फाइदा लिन सकिंदैन, धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मन आलस्य, डर र चिन्ताले जरो गाड्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ काममा हात हाल्नु हँदैन । धनव्यय र सञ्चित धनको नाश हुने सङ्केत छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आत्मविश्वासको खाँचो हुनेछ, तर दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!