नेपालमा छुवाछुतको इतिहास हेर्ने हो भने किताबका धेरै पानाहरुमा देख्न सकिन्छ । ई.पू. ६०० को आसपासमा नै वर्ण व्यवस्थाभित्र छुवाछुत गरिएको पाईन्छ । यस्तो क्रम अगाडि बढ्ने सिलसिलामा छुवाछुतलाई कानुनी रुपमा नै कठोर बनाउँदै लगिएको पाईन्छ । त्यस क्रममा हिन्दु धर्मिय शासन जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । काठमाडौं उपत्यका लगायत पश्चिम तथा मधेसमा छुवाछुतसहितको वर्ण व्यवस्था गर्ने क्रममा दलित समुदायका लागि ‘अछुत’, ‘पानी अचल’, ‘कुजात’ आदि बिभिन्न शब्दहरु प्रयोगमा ल्याएको पाईन्छ ।
राजा महेन्द्रले २०२० साल भदौ १ देखि मूलुकी ऐन लागु गरेर छुवाछुत कानुन त निषेध गरेका थिए । तर परापूर्व कालदेखि नै समाजमा जरो गाडेर रहेको यो प्रथा नेपालमा कानुनी रुपमै अन्त्य भएतापनि व्यवहारिक रुपमा अझै पनि समाजबाट अन्त्य हुन सकेको छैन । यो जरो गाडेर रहेको प्रथालाई त्यति सजिलै उखेलेर फाल्न सकिने अवस्था पनि देखिदैन । समाज बिभिन्न दृष्टिकोणले परिवर्तन हुँदै गयो, शिक्षाले मानिसलाई परिवर्तित बनाउँदै गयो । ज्ञानको दायरा फराकिलो हँदै गयो तर पनि समाजमा यस्ता प्रथाहरुलाई जरैबाट उखेल्न समयले कोल्टे फेरेता पनि सामाजिक सोचमा परिवर्तन हुन गाह्रो परेको छ ।
श्रृङ्गारिक बिभेदिकरण शिक्षित व्यक्ति र समुदायबाटै भइरहेको छ । यहाँ एउटा प्रसंग जोड्न मन लाग्यो । कुरा २०५९ साल तिरको हो, मैले अध्ययनको क्रममा भोगेको मेरो मावली घर धनकुटाको मौनाबुधुक हो, मैले त्यही बसेर बुधुक मा.वि.बाट कक्षा–११ को परीक्षा दिने क्रममा परीक्षा सेन्टर धनकुटा सदरमुकामको भाषा मा.वि. तोकिएको थियो । वार्षिक परीक्षा दिने दिन नजिकिदै जाँदा कक्षा–१२ मा अध्ययनरत एक जना साथिलाई मैले सोधेँ–‘साथि परीक्षा दिन जानु पर्ने कहाँ बस्ने अनि कसरी परीक्षा दिने हो ?’ उसले मलाई एउटा गतिलो र आश्चर्यजनक जवाफ दियो की तिमिले जात ढाँट्नु पर्छ । म छक्क परें । किन जात लुकाउनु पर्ने ? ‘जुन ठाउँमा म बसेर परीक्षा दिँदैछु त्यो ठाउँमा दलित समुदायका मानिसहरुलाई घरभित्र छिर्न दिदैनन्,’ उसले जवाफ दियो । म धनकुटा सदरमुकामभित्रको ठाउँसँग त्यति परिचित थिइन, मेरा लागि नौलो ठाउँ थियो । ऊ बसेको घरबाहेक अन्य ठाउँमा त्यो प्रकृतिको चलन थियो वा थिएन मलाई थाहा भएन । त्यसैले मैले जसरी हुन्छ उसैसँग जानु थियो । उसलाई मैले भने, म तिमिसँगै जान्छु तर मेरोे परिचय लुकाउँदिन । उसले ठिक छ तर यो सबै कुराको वातावरण आफै मिलाउनु भन्यो । सोही वमोजिम म धनकुटा पुगे र घरमा पुगेपछि साथिलाई सबै कुरा बताउनु यदी मानेनछन् भने म अन्यत्रै बसौंला भने । ‘बाबु ईमानदार हुनुहुँदोरहेछ धेरैले जात ढाँटर हैरान परेका थिए । अरु कोठामा कतै नजानु यो भुँइतलाको कुनाको कोठामा बस्नु है’ घरधनिले भने । मैले हुन्छ भनिदिएँ किन की मलाई कोठा चहार्नु हैन परीक्षा दिनु थियो ।
त्यसैबेला (जेठ १९), नेपालमा दरबार हत्या काण्ड भएको थियो, दिउँसो अबेर पख थियो नेपाल टेलिभिजनले प्रशारण गर्न थाल्यो, मलाइ उक्त घटना हेर्नु थियो तर कसरी ? घरधनि लगायत सबै जना साथिहरु टाँढको एउटा रुममा राखिएको टि.भि. हेर्न उतै लागे तर मेरा लागि यो सम्भव थिएन । रुमभित्र भएको टि.भि. बाट आँगनमा बसेर वरण्डामा राखिएको ऐनाको रिफ्लेक्सनद्वारा मैले उक्त दृष्य हेर्ने धोको पुरा गरे । यो एउटा उदाहरण मात्र हो, मेरो अनुभव एउटा प्रतिनिधि मात्र हो ।
समुदायको कुनै पनि क्षेत्र यस्ता घटनाबाट अछुतो रहन सकेको छैन । छरछिमेक, संघसंस्था, शैक्षिक क्षेत्र, सरकारी तथा गैर सरकारी कार्यालयहरु, कुवा, पानी पँधेरो, धारा अनि मन्दिरमासमेत दलित समुदायले सास्ती खेप्नु परेको घटना बेला—बेलामा समाचार नबनेका होईनन् । हाल आएर दलित भनिएको समुदायका व्यक्तिहरुले पनि बिभिन्न पद र अहोदामा सरकारी तथा गैर सरकारी कार्यालयहरुमा प्रतिनिधित्व गरिरहेका छन् तै पनि ती व्यक्तिहरुले कुनै न कुनै बेला आफु दलित समुदायको हो भन्ने महसुस अन्य गैर दलित व्यक्ति र समुदायका मानिसद्वारा गराईरहेको अनुभुत गरिरहेका छन् । वर्तमान परिपेक्षमा सबै गैर दलित समुदायका व्यक्तिहरुलले त्यस्ता व्यवहार गर्छन भन्न खोजिएको होईन । मेरा पनि ९० प्रतिशत भन्दामाथि साथिहरु गैर दलित नै छन् । हिन्दु समाजमा ‘अछुत’ बनाईएका कयौं जातलाई साझा नामका रुपमा ‘दलित’ शब्दले सम्बोधन गर्ने व्यक्ति भारतका प्रसिद्ध दिलित नेता डा. भिमराव अम्बेडकर थिए । सन् १९२७ ताका उनैको नेतृत्वमा चलेको दलित आन्दोलनको बेलामै ‘दलित शब्दको प्रयोग व्यापक बनेको कुरा ईतिहासले बताउँछ । नेपालमा २०२४ सालमा गठित ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद’ को नाममा ‘दलित’ शब्दलाई प्रयोग गरिएको पाईन्छ । यसरी नेपालमा पनि ‘दलित’ शब्द दिलत आन्दोलन, राजनितिक साथै सामाजिक क्षेत्रमा स्थापित हुन पुग्यो । यसरी हेर्दा ‘दलिद’ शब्द दलित आन्दोलनबाटै बिकसित भएको साझा परिचय हो भन्ने कुरा प्रष्ट देखिन्छ ।
यदाकदा छुवाछुतको प्रथा दलित समुदाय भित्रै पनि रहेको देखिन्छ । एक दलितले अर्को दलितलाई गर्ने व्यवहार समान हुन जरुरी छ र समयसँगै हटेर जानुपर्छ । ईतिहासलाई हेर्ने हो भने छुवाछुत प्रथा दलित समुदायभित्र मात्र हावि छैन यो अन्य जात—जातिभित्र पनि रहेको पाइन्छ । जस्तै नेवार जातभित्रको सायमी अथवा मानन्धर जातका मानिसलाई पहिले छुवाछुत गरिन्थ्यो तर राणाशासनको हुकुमेले मानन्धरहरुको पानी चलाईदिए पछि उनीहरु अछुत रहेनन् । उनीहरुले पहिले पनि मानन्धर भन्थे र अहिले पनि भन्छन् । त्यसले उनीहरुलाई केही फरक पारेको देखिदैन । त्यसैले यहाँ शब्द होईन सोच, व्यवहार, संस्कार र सामाजिक व्यवस्था बदल्न जरुरी छ । यहाँ ‘क्यान्सर’ लाई ‘ज्वरो’ भनेर ज्वरोको औषधी दिँदा प्रभावकारी होला त ? शब्दले पनि कुनै भुमिका नखेल्ने भने होईन, शब्द चयनले पनि फरक त पार्छ नै, जब हामी कुनै क्षेत्रसँग सम्बन्धित मर्यादित शब्दको प्रयोग गर्छौ त्यसको प्रभाव मर्यादित नै रहन्छ । जसले हामीलाई समाजको दृष्टिकोणमा आफ्नो मर्यादामा आँच आएको महसुस गराउँदैन । बेला—बेलामा दमन, बिभेद र जातीय मुद्दाका आन्दोलनहरु नभएका होईनन् । देशका धेरै ठाउँहरुमा दलितहरुमाथि नै बिभेदिकरण, बलात्कार र अनेकौं लान्छनाहरु लगाईएको पाईन्छ ।
यही जेठ १० गते पश्चिम रुकुमको चौरजहारी न.पा.–८ सोतीमा भएको नवराज बि.क. लगायत अन्य ६ जनाको ‘सामुहिक नरसंहार पुर्ण हत्या काण्ड’ ले अहिले देश नै तातिएको छ । यो मुद्दालाई लिएर सडकदेखि सदनसम्म बिभिन्न वहस र बिचारहरु व्यक्त भईरहेका छन् । दलित तथा गैर दलित समुदायको आफ्ना—आफ्ना बिचार, दृष्टिकोण र बिरोध तथा समर्थनका बिचारहरु सामाजिक सञ्जाल तथा पत्र पत्रिकाहरुमा छ्याप छ्याप्ती हेर्न र पढ्न पाईन्छ । मेरो बिचारमा यो घटनाको पहिलो न्यायोचित कार्य भनेको कुनै शर्तबिना पीडितले न्याय र दोषिलाई कानुन वमोजिम कारवाही हुनपर्छ ।
दलित समुदायकै मुद्दालाइ आफ्नो राजनैतिक एजेण्डा बनाएर बिभिन्न तह र तप्कामा पुगेकाहरुले भाषणमा मात्रै होईन व्यवहार र ठोस निर्णय गरेर देखाउनु पर्छ । नगण्य मात्रामा गैर दलितले दलितका छोरा छोरीसँग विवाह गरेर भित्राएका घटनाहरु पनि नभएका भने होईनन् । तर संविधान मै उल्लेखित र कानुनले छुवाछुतलाई अपराधको रुपमा घोषित गरेता पनि सयौं नवराजहरुले ज्यानको आहुति दिनु परिरहेको छ । आज हामी गणतान्त्रिक सार्वभौम सत्ता सम्पन्न देशको नागरिक भएर छुवाछुतमुक्त समाज र देश खोजिरहेका छौं । दलितका सवाल र मुद्दाहरुलाई जब-जब घटना घट्छ अनि मात्र ओझिलो तवरले उठान गर्ने र अरुबेला सुस्ताउने चलन त्यति प्रभावकारी देखिदैन । यो मुद्दा हामी सबैको हो । यसलाई निर्मुल गर्न दलित तथा गैर दलित समुदाय नै लागि पर्नु जरुरी छ ।
जबसम्म गैर दलित, धर्मगुरु र धर्म प्रचारकहरुले दलितको एजेण्डाहरुलाई उठान गर्दैनन् तबसम्म बिभेद र छुवाछुतको सवाल र मुद्दाले सार्थकता पाउँदैन । प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहँदा यो एक दिन गरिने बिभिन्न कार्यक्रम र छलफलमा मात्र सिमित रहे दलितका सवाल र मुद्दाको संवोधन नहुने हो कि ? जातीय भेदभाव र छुवाछुतबिरुद्ध म अग्रपंतिमा उभिने छु, आउनुस् हातेमालो गरौं ।