- रामकुमार श्रेष्ठ

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा बर्षासँगै आएको हावाहुरीका कारण कुखुराको खोर भत्किँदा किचिएर दुई जनाको मृत्यु भएको छ । गैडाकोट–६ बोटे टोलमा बाँस र खरले बनाएको कुखुराको खोर हावाहुरीले भत्काउँदा कुखुरा पालक व्यवसायीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

भित्र सरसफाई गरिरहेका बेला खोर भत्किँदा गैडाकोट–८ का कुखुरा पालक व्यावसायी ३५ बर्षीय काशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्कीका ४० बर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनका अनुसार खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लैजादै गर्दा आईतबार साँझ मृत्यु भएको हो ।

खोरले किच्दा व्यावसायी पौडेलका ९ बर्षीय छोरा प्रतिक र भण्डारीका डेढ वर्षका छोरा सुमिन घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । मृतक पौडेल र भण्डारीले हावाहुरीले खोर भत्काउँदै गर्दा छोराहरुलाई च्यापेर जोगाएका थिए । छोराहरु बाँचेपनि जोगाउँने दुवै जना बाबुको खोरले किचिएर मृत्यु भएको हो ।

घटनापछि पुगेको प्रहरी टोली र स्थानीयबासीले भत्किएको खोर पन्छाएर उनीहरुलाई निकालेका हुन् । खोर भत्किँदा च्यापिएर २ ओटा बाख्रासहित सयौं कुखुरासमेत मरेका छन् । खोरमा एक हजार कुखुरा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!