काठमाडौं । नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक भएको छ । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।
बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरिन् । नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले अघिल्लो नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको बताउँदै नेपालको नयाँ नक्सालाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।
नयाँ नक्सामा भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समावेश छ । नयाँ नक्सा सार्वजनिक भएसँगै पुरानो नक्सा स्वतः खारेज भएको छ । अब सरकारी दस्तावेज, पाठ्यपुस्तक लगायत सबै प्रयोजनमा नयाँ नक्सा प्रयोग हुँनेछ ।