१४ असार। असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म मतदाताको उत्साह देखिएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएका छन् । वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजेका हातले मतदान गर्दा बदर हुने सम्भावना बढी देखिएको छ । विशेष गरी पहाडी जिल्लामा वर्षाले समस्या पारेको छ ।

Advertisement

दोस्रो चरणको निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् । जसका लागि ८ हजार ३६४ मतदान केन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ ।

धनकुटाको त्रिवेणी मतदान केन्द्रमा मतदान गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

यसपटक सगरमाथाको आधार शिविर क्षेत्र खुम्बु भ्यालीदेखि नेपालकै सबैभन्दा होचो भूभाग केचनासम्मका मतदाताहरु मतदानमा सहभागी छन् । ३ प्रदेशका ३५ जिल्लामा रहेका ३३४ स्थानीय तहमा मतदान हुँदैछ ।

१५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनका लागि ६२ हजार ४०८ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा एक महानगरपालिका, ७ उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिका तथा २८७४ वडा छन् ।

प्रदेश नम्बर १ का १४ जिल्लामा १३७ स्थानीय तहमा मतदान भइरहेको छ । त्यस्तै प्रदेश नम्बर ५ का १२ जिल्लाका १०९ स्थानीय तहमा मतदान भइरहेको छ भने प्रदेश नम्बर ७ का ९ जिल्लाका ८८ स्थानीय तहमा मतदान भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरवहादुर देउवा, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रवहादुर चन्द, संविधानसभा अध्यक्ष सुवास नेम्वाङसहित प्रमुख दलका अधिकांश शीर्ष नेता मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!