बिराटनगर । मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीसहित मुलुकभरका १३ जिल्लाका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
झापामा ९ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै कपिलबस्तुमा ४ जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तैगरी भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, ललितपुर, लमजुङ र नवलरपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १७ देखि ४२ बर्ष उमेरका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । कोरोना संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालका ३६ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।