- सञ्जु सुवेदी

भत्कन लागेको मेरो झुपडीमा
मुसल धारे झरिले हिर्काउदा
तपतप छानाबाट
तप्किएको तप्कानले
मझेरीमा परेका खोबिल्टा पुर्न
हरेक दिन बिहान
रातो माटो र हरियो गोबरले
मिलाई-मिलाई लिप्दै गर्दा
एउटा चिटिक्क परेको
टिनको छानो र राता इट्टा जोडेर
सिमेन्टले कहिलै न भत्कने गरि
चिल्लो बनाएर प्लास्टर गर्न
हरेक बिहान देखेका सपनाहरु
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

Advertisement

जाडोले डगमगाउदै
बिहानै उठेर तातोपानी तताउन
आगो जोड्न लग्दा
चिसा दाउरा नबलेर
उड्दै गरेको पतपती धुवामा
थोरै मट्टीतेल खन्याएर
हुर्र बलेको आगो
तप्किएको तप्कानले निभाई दिदा
टिनको छानो र इट्टा जोडेको घरको कुनामा
ग्यास सिलिन्डर र चुलो जोडी
लाइटरले ठोसेर
धुवा बिनाको आगो बाल्न देखेका सपनाहरू
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

साहुको बारिमा कोदो छर्न
दिन भरी कोदालोले बारी खनेपछि
लखातरान भएको
थिल-थिलाउदो जिउ सगै
लोलाएका अँखा निदाउन लाग्दा
मझेरिको बिचमा ओचछयाएको
गुन्द्री माथि लडाएको जिउमा
ओडेको पुरानो पछ्यौरी
तप्किएको तप्कानले भिजाई दिदा
झुपडीको एक कुनामा काप्दै बसेर
टिनको छानो र इट्टा जोडेको घरमा
बडेमानको पलङ राखेर
बक्लो डसना ओछ्याई
सेतो रुवाको न्यानो सिरक ओढी
आनन्दले निदाउन देखेका सपनाहरू
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

टुकु-टुकु हिड्न लाग्दा
तोते बोल्दै गरेको छोरोलाई
आगनीको छेउमा धुलो छरी
तिखारेको सिन्काले कोर्दै
बाह्रखरी सिकाएर
स्कुल पठाउन
साहुको छोराले
लेखी सकेर फालेका कापीका
खाली पानाहरु बटुलेर बनाएको कापी बोकेर
स्कूल हिन्नै लाग्दा
तप्किएको तप्कानले भिजेर च्यातिदा
टिनको छानो र इट्टा जोडेको घरमा
सिसाको दराज भित्र
मिलाई-मिलाई किताब कापी राखि
छोरोलाई डाक्टर बनाउन देखेका सपनाहरू
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

दिन भरी स्कूल गएर
घर फर्केको छोरोले
भोक लागो भनेर खाजा माग्दा
मकै भुट्नको लागि
अगेनामा हाडी बसाएर
मकै झिक्नै लाग्दा
तप्किएको तप्कानले भिजाएर
ढाडिएका मकैलाई
घाममा सुकाउदै गर्दा
टिनको छानो र इट्टा जोडेको घरमा
म:म, पिजा र रसबरी बनाएर
डाईनीङ टेबलको वरीपरी बसी
खुट्टा हल्लाउँदै खान देखेका सपनाहरू
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

मुटु काम्ने जाडोले
कठ्याग्रिएर कापेको जिउमा
सियो र धागोले तुनेर
सिगौरामा झुण्ड्याएको
फाटेको पुरानो स्वीटर
झिकेर न्यानो मानेर लगाउनै लाग्दा
तप्किएको तप्कानले भिजाएर चिसो बनाइदिदा
टिनको छानो र इट्टा जोडेको घरमा
स्टिलको दराज बानाएर
नयाँ ज्याकेट किनि
कपुर हालेर जतन साथ राखेर
मगमगाउँदो ज्याकेट लगाउन देखेका सपनाहरू
पूरा गर्न
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
साहुकोमा धितो राखेर

प्लेन चढेर
विदेशिएको मेरो छोरोको पिता
मरुभूमीको टन्टल्लापुर घाममा
पसिना पुस्दै
१८ घण्टा काम गरेर
आधा पेट खादै जोगाएको पैसाले
ऋणको ब्याज तिर्दै गर्दा
धेरै पैसा जम्मा गरेर
साहुको पुरै ऋण चुक्ता गरि
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
जस्ताको तस्तै फर्काउन देखेका सपनाहरू

आज मात्रै चाबी लगाएर
प्लेन चढाएर ल्याईएको
बाकस खोल्दा
बाकस भित्र पहेलो कपडा ओडाएर
लडाएको निर्जिब लास देखे सगै चकनाचुर भएपछि
पुर्खाको प्रसाद मानी बाजेले दिएको अंश
ऋण चुक्ता गर्न साहुलाई नै पास गर्न
तारे भिरको खर काटेर
२/४ जना खेताला पर्ममा
खोजि छनो टाल्ने
भत्किएको सपना पूरा गर्न

छोरोको बाको लासको छेउमा
छोरोसँगै बसेर छोरोलाई थुम्थुम्याउँदै
काल्पनिक सपना देखि रहेछु
काल्पनिक सपना कल्पनामा नै पूरा गरिरहेछु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!