रबिन कटेल

नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रेकर्ड कतिबेला तोडिने हो टुंगो छैन ।

Advertisement

विश्वलाई नै आक्रान्त बनाएको कारोनाको संंक्रमण नेपालमा अन्य देशको तुलनामा ढिलो देखा पर्यो । यो सुखद् पक्ष थियो । तर, सुखद् पक्ष धेरै समय टिकिरहन सकेन । संक्रमण भेटिएको सुरुवाती चरणको तुलनामा अहिले संक्रमित थपिने क्रम ह्वात्तै बढेको छ । सरकारले बेलैमा लकडाउन घोषणा गर्नाले संक्रमितको बृद्धिदरमा केहि कमी त ल्याएको होला । तरपनि अपेक्षाकृत प्रभाव पर्न सकेन । मुलुकमा लकडाउन घोषणा भएपछि अधिकांस देशबासी घरभित्रै बसेका छन् । काम गर्न बाहिर निस्किएनन् । निस्किन खोज्दा पनि पाउँने अवस्था छैन । तर, जसरी देशभित्र बस्नेलाई कडाई भयो, त्यसरी नै देशको सीमाबाट मुलुक भित्र पस्नेलाई पनि कडाई गर्न सकेको भए सम्भवतः नेपालमा संक्रमितको संख्या यति बिघ्न हुने थिएन । कारण, अहिले संक्रमण पुष्टि भएका अधिकांस छिमेकी मुलुकबाट आएका व्यक्ति छन् । त्यो पनि लकडाउनकै बेला ।

संक्रमितको संख्या बृद्धि हुनुमा अरु पनि धेरै कारण होलान् । जे होस् लकडाउन पनि जारी छ, संक्रमित थपिने क्रम पनि रोकिएको छैन । बरु झन्–झन् बढ्दै गएको छ । लकडाउन लामो समय नरहला भनेर स्थानीय तहहरुले पनि बेलैमा बिपन्न र मजदुरलाई नुनदेखि चामलसम्म बाँढे । अहिले त सम्पन्न भनिएकाहरुको पनि हालत खराब हुन थालिसकेको छ । व्यापार, व्यवसाय ठप्प छन्, निजी क्षेत्रका अधिकांस जागिरेले पनि तलब पाएका छैनन् । यो बेला अचल सम्पत्ती जति नै भएपनि गोजीमा पैसा नभए भोकै बस्नुपर्ने अवस्था छ । सञ्चित रहेको पैसाले दुई महिनासम्म खाँदा थैलो रित्तो हुँन थालेपछि उनीहरु पनि राहत माग्ने अवस्थामा पुगिसकेका छन् । यता, स्थानीय तहले भने फेरी राहत बाँढ्न सक्ने अवस्था छैन भनेर हात उठाउँन थालिसके ।

यस्तो अवस्थामा दैनिक ज्यालादारी गर्ने, गरिब, बिपन्नको अवस्था त झन् भयावह बनेको छ । शहरमा कोठा भाडा लिएर बसेकाको पनि अवस्था उस्तै छ । दुई छाक टार्ने आम्दानीको बाटो टुट्दा र घर फर्कन नपाउँदा उनीहरुको अवस्था पनि भयावह बनेको छ । समस्या एक, दुई क्षेत्रमा मात्र हैन, जताततै छ । घर भित्रै बसौं भोकले मरिएला भन्ने पीर, बाहिर निस्कौं रोगले मार्ला भन्ने डर छ । कोरोनाको प्रभावले बिकसित मुलुकको आर्थिक बृद्धिदर ओरालो लागेर घुँडा टेकिसकेको छ भने हाम्रो जस्तो विकासोन्मुख मुलुकको अवस्था झन् धरासायी बन्ने निश्चित छ ।

लामो समयको लकडाउनले सबै क्षेत्र समस्याग्रस्त बनेपछि सरकारले लकडाउन खुकुल्याउँन थालेको छ । खुकुल्याउँनु पर्ने बाध्यता पनि छ । लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत पनि उत्तिकै छ । मुलुकभित्र दुई जना संक्रमित फेला पर्दा सुरु भएको लकडाउनकै बीच झण्डै दुई महिनाको अवधिमा ६० गुणा बढी संक्रमित थपिएका छन् । यो पक्कै पनि राम्रो संकेत होईन । सरकारी तथ्यांक अनुसार नेपालभित्र कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन । बरु झण्डै तीन दर्जन संक्रमित निको भएर घर फर्किएका छन् । यो राम्रो पक्ष हो । अहिलेसम्म आत्तिहाल्नु पर्ने अवस्था पनि छैन तर, यसो भन्दैमा ढुक्क भईहाल्ने अवस्था झनै छैन । आत्तिने र ढुक्क हुने भन्दा पनि अहिले सावधानी अपनाउँँने बेला छ ।

लकडाउनमा कडाई भईरहेका बेलामा पनि नरोकिएको संक्रमित थपिने क्रम अब लकडाउन खुकुल्याँईदा कसरी रोकिएला ? सहजै अनुमान गर्न सकिन्छ, अझै संक्रमण फैलने खतरा छ । अहिलेसम्म लकडाउमा कडाई गरिदा पनि संक्रमण बढिरह्यो । अब उद्योग धन्दा, व्यवसाय, सवारीसाधन लगायतलाई बिस्तारै खुल्ला गर्न थालिएको छ । सडकमा जाम सुरु हुन थालिसक्यो । बजारमा चलहपहल बढ्न थालेको छ । सरकारले पनि लकडाउनमा कडाई गरेर मात्र हुँदैन । कि त, नागरिकलाई घरभित्रै बस्न लगाएर उनीहरुलाई दुई छाक टार्ने व्यवस्था गर्न सक्नुपर्छ । नभए, भोक थामेर नागरिकहरु घरभित्रै कतिन्जेल टिक्न सक्लान् ? झण्डै दुई महिनासम्म त जसो तसो पेट पालियो, अब उपाय नभएर पेटमा मुसा दौडन थालेपछि रोगले मरिएला भन्दा पनि भोको पेट भर्न सर्वसाधारण काममा निस्किनै पर्ने अवस्था आउन सक्छ ।

यही कुरा बुझेर होला, सरकारले पनि लकडाउन खुकुलो पार्न थालेको छ । यही बाध्यताबीच लकडाउन खुकुलो बनाईदा कोरोनाको संक्रमण अझ बढी फैलन सक्ने खतरा छ । कोरोना भाईरस आफै निस्क्रिय हुन थाल्यो भने बेग्लै कुरा, नभए भोलिको स्थिति अझै भयावह बन्ने खतरालाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन । विश्वका मै हुँ भन्ने राष्ट्र पनि कोरोनासँग हारिसकेका छन् । नेपाल जस्तो बिकासोन्मुख राष्ट्रले कोरोनाको महामारीलाई सहजै पार लगाउँन सक्ने अवस्था नै छैन । संक्रमित बढ्ने क्रम रोक्न सकिएन भने अहिले जत्तिकै सहज स्थित नहुँन सक्छ । अहिले थोरै संक्रमित हुँदा उनीहरुले राम्रो हेरचाह पाएका छन् । तत्काल अस्पताल पुर्याइएको छ । जसका कारण उनीहरुको आत्मबल उच्च भएर पनि होला निको हुँने क्रम पनि बढ्दै छ । विश्वभर कोरोनाबाट झण्डै तीन लाख मानिसको मृत्यु हुँदा कतिपय राष्ट्रलाई मृतकको शव व्यवस्थापन गर्नसमेत चुनौति भईरहेको छ । नेपालमा त अहिले संक्रमणको सुरुवाती चरण मात्र हो, हालसम्म कसैको मृत्यु भएको छैन, नहोस् पनि । तर, यसरीनै संक्रमित बढ्दै गएर मृत्यु हुँने अवस्था आउँन थालेमा हाम्रो स्रोत साधनले थेग्न मुस्किल छ । त्यो निकै विकराल अवस्था हुनसक्छ ।

विश्वलाई नै परेको यो संकटका बेला अरु केही उपाय निस्कियो भने बेग्लै कुरा । नभए अब, लकडाउन खुकुलो पार्नुपर्ने बाध्यताकावीच हामीले स्वतस्फूर्त सचेत हुनु जरुरी छ । रोग सर्न सक्ने संभावनाबाट बच्न स्वास्थ्य सावधानी अपनाउँदै सामाजिक, भौतिक दुरी कायम गरेर पेट पाल्ने मेलो गर्नुको विकल्प छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!