भरत थापा (बिकल्प)
भरत थापा (बिकल्प) महालक्ष्मी-३ डाँडागाँउ, धनकुटा

आफ्नै देशको बरखी बारेर
मौनधारण गरिरहे जस्ता हिमालहरु
राहदानी भिरेर
उडानको पर्खाइमा रहेका नदीहरु
आत्महत्या गर्न
हामफाली रहे जस्ता झरनाहरु
अनि गुँरास कुम्लो पारेर
बसाइ सर्न लागेका पहाडहरु देखेर
म सोधिरहेछु आमालाई
आमा म गोर्खाली हुँ कि हुँइन ?

सोधिरहेछु
कहाँ छ आमा सुस्ता र लिपुलेकको लालपुर्जा ?
किन हडपिरहेछन दलालहरुले?
कहाँ राखेकी छ्यौ आमा बुद्धको जन्मदर्ता ?
किन दाबी गरिरहेछन नाजायज आमाहरु ?
अनि कहाँ छ सगरमाथाको चिनाटिपन ?
कहाँ राखेकी छ्यौ अरुणको नागरिकता
के साच्चै मेरो देशको धनीपुर्जा हराएकै हो आमा ?
कि ऐलानी हो आमा मेरो देश ?
सोधिरहेछु
आफै काल पर्खिरहेको मधेशले
कसरी मेट्ला कर्णालीको अनिकाल ?
अनि कसरी मेट्ला
भरीया र ढाक्रेहरुको प्यास
आफै लिलाम भएको अरुणले

Advertisement

बिन्ती आमा
महिनावारी सुकेको छैन भने
टिष्टा र कांगडासँग संसर्ग गरेर
जन्माइदेउन दुई चार अमर सिंहहरु
मैले पाथिभरा भाकेको छु
जन्माइदेउन एउटा बुद्ध
मैले हलेसी भाकेको छु
अनि जन्माइदेउ भृकुटी र अरनिकोहरु
आमा मैले छिन्ताङ भाकेको छु
छिट्टै पोत्नुछ आमा
सेताम्मे हिमालहरुको क्यानभासमा
रक्ताम्मे गुँरासहरूले स्वाभिमानको रङ्ग
देशको रङ्ग । बिजयको रङ्ग ।

आमा
अब चुपचाप, शान्त बग्ने छैन कोशी
टोलाएर उभिरहने छैन कञ्चनजंघा
बरु रातै हुनेछ सगरमाथा
रातै बग्नेछ दुधकोशी
लडाकु हुनेछन् बुद्ध
तर आत्मसमर्पण गर्नेछैन देश
बरु सहिद हुनेछ ब्रह्माण्डको ।
मलाइ यत्ति भनिदेउ आमा
कहाँ छ बलभद्रहरुले राख्न दिएको
यो देशको धनीपुर्जा
बिर पुर्खाहरुले दर्ता गराएको
गोर्खाली इतिहास
छिट्टै नविकरण गर्नुछ आमा
भन्देउन
कहाँ छ मेरो देशको धनीपुर्जा
कहाँ छ आमा ? कहाँ छ ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!