काठमाडौं । बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साका १० पुरुष र ७ महिलामा संक्रमण देखिएको जानकारी दिए । संक्रमित हुनेमा २ महिने शिशुसमेत छन् । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । ७१ पुरुष र २८ महिलामा संक्रमण देखिएको हो ।
जसमध्ये हालसम्म २२ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई पुनः अस्पताल भर्ना गरेर उपचार भईरहेको छ ।