काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहिबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा उनी मुम्बई फर्किएका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए ।
अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’ को सुटिङ गरेका थिए । तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरका छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।
यसअघि बुधबार बलिउडका अभिनेता इरफान खानको पनि निधन भएको थियो ।