काठमाडौं । पूर्व मन्त्री सुनिल बहादुर थापाले काठमाडौंमा अलपत्र परेका धनकुटेलीका लागि बुधबार राहत प्रदान गरेका छन् । लकडाउनका कारण काठमाडौंमा रोकिएर बिजोक अवस्थामा बस्दै आएका धनकुटेलीका लागि थापाले खाद्यान्न सामाग्री प्रदान गरेका हुन् ।
सूर्य बहादुर थापा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापाले काठमाडौंमा प्रतिष्ठानको तर्फबाट धनकुटा–काठमाडौं सम्पर्क समाजका अध्यक्ष प्रेम बस्नेतलाई सामाग्री हस्तान्तरण गरे ।
पूर्व मन्त्री थापाका स्वकीय सचिब एवं सूर्य बहादुर थापा प्रतिष्ठानका निर्देशक मदन घिमिरेका अनुसार २५ केजीका ५० बोरा चामल प्रदान गरिएको छ । त्यस्तै सय/सय केजीका दरले दाल, चना, नुन र चिनी हस्तान्तरण गरिएको छ । त्यस्तैगरी सय लिटर तेल र २५ केजी सोयाविन प्रदान गरिएको घिमिरेले जानकारी दिए ।
काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई बिहिबारबाट खाद्य सामाग्री वितरण गरिने भएको छ । दैनिक ज्यालादारी मजदुर, एकल महिला, बिद्यार्थी र बृद्धबृद्धालाई प्राथमिकता दिएर सामाग्री वितरण गरिने धनकुटा–काठमाडौं सम्पर्क समाजका अध्यक्ष बस्नेतले बताए ।
राप्रपाका नेतासमेत रहेका थापाले गृह जिल्ला धनकुटाका लागि यसअघि कोरोना भाईरस संक्रमण रोकथाममा प्रयोग हुँने स्वास्थ्य सुरक्षा सामाग्री पनि प्रदान गरेका थिए ।