
काठमाडाैँ । कोरोना भाइरस संक्रमण भई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर शनिवार डिस्चार्ज भएकी छन् । २७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर १९ बर्षीय श्रेष्ठ घर फर्किएकी हुन् ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी उनी नेपालकी दोस्रो कोरोना संक्रमित हुन् । कोरोना संक्रमण देखिएपछि टेकु अस्पतालमा उनको उपचार भईरहेको थियो । अस्पतालबाट डिस्चार्जका क्रममा आफु पूर्ण रुपमा निको भएको प्रतिक्रिया दिदै उनी घर फर्किएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार मात्रिकाप्रसाद तिवारीले जनाएका छन् ।
शुक्रबार गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । गत माघ ९ गते नेपालमा पहिलो पटक भेटिएका कोरोना संक्रमित पनि निको भएर घर फर्किसकेका छन् ।
निको हुँने दोस्रो संक्रमित श्रेष्ठसँगै कतार एयरवेजको क्यू आर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएर उनीहरु अहिले धौलागिरी अस्पतालमा उपचाररत छन् ।
नेपालमा अहिले २८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । हालसम्म संक्रमण पुष्टि भएका ३० जना मध्ये दुई जना निको भएर घर फर्किएका हुन् ।















