- मीनप्रसाद अधिकारी
मीनप्रसाद अधिकारी, धनकुटा

मुखियाको घरमा हिजै बेलुकी घ्यु पुर्याए,
मुखिनी अलिक चटपटे होइसिन्छ
कागती र बीरे नुन टक्र्याए,
सानु मालिक, सानी मालिक्नी
मेरै सामू पर्दा
माया र सद्भावले आफैंले काडेर लगेको
नयाँ घारको, सुनौलो मौरीको मह देखाएँ,
सबै मिल्यो नि, पाउँछु नि हजुर ?
ताऊ लाएर मर्जी भा थ्यो ल ल …

मध्ये रातमा एक निन्द्रा पुर्याएकी
दुई मात्र सन्तानकी आमा
गहनाले झपक्क बलेकी
चन्द्र मुखी झै झल्केकी,
प्यारीलाई खुसुक्क कानमा भने
ओई बुढी; राहत पाइने भैयो
दन्द्रामै बुढी उत्साहित भइन,
आहा! राहत पाइने भो.
आहा ! धन्य मुखिया
हामी भनेपछि मुखिया हुरूक्कै हुन्छन् नि
आहा! राहत
हामी लाई राहत….

आहा राहत, आहा! राहतमा परिणत भयो
मुखियाले मेरै बुढीलाई पहिले बोलाए,
फोटो खिचाए,
पत्र पत्रिकाको मुख पृष्ठमा
भोलिपल्ट फोटो आयो
सबैले फोटो हेरेर, मेरो राहतलाई हेरेर
मुख मिठ्याए,
राहत पाएकोमा बधाई टक्र्याए
सामाजिक सञ्जालमा भाइरल भैयो
राहत पाएकोमा खुसी छु
मुखिया बा, मैले खुसुक्क कानेखुसी गरेँ,
ताऊ लगाउँदै, उही मुस्कानमा
मुखिया बोले,म छु नि
सधैँ मेरो बन तिमी,
म बनाउँछु तिमी ..

बिपत्तिमा यसरी
मलाई मुखियाको साथ रह्यो,
आहामा पाउने राहत, आहा! राहत भयो
खुसुक्क पाएको हैन
फोटो, भिडियो बन्यो
गरिबी र दुखीलाई पो सरम
मलाई के सरम
यो राहत हो नि,
सबैले पाउन कि नपाउन
मैले पाएँ, यो आहा! राहत भो
यो आहा राहत थ्यो, ….
यो राहत आहा! भो मलाई
धन्य राहत
धन्य संकट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!