
काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार प्रेस ब्रिफिङमा अर्का व्यक्तिमा पनि कोरोना (कोभिड(१९) पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । योसँगै अव नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजमार्फत नेपाल आएका हुन् । तर, उनी कहाँको र महिला वा पुरुष के हुन् भन्ने खुलाइएको छैन । नेपालमा पहिलो कोरोना संक्रमित व्यक्ति उपचारपछि निको भइसकेका छन् ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् भने तेस्रो धादिङको, चौथो धनगढी र पाँचौं बाग्लुङका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एक जना र धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको छ ।















