काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संखुवासभाका लिलाबहादुर राईको वेलायतमा मृत्यु भएको छ । लण्डन स्थित नर्थविक पार्क हस्पिटलमा उपचारका क्रममा ६६ वर्षीय पूर्व गोर्खा सैनिक राईको मृत्यु भएको हो ।
बेलायतको हृयारो सहरमा बस्दै आएका राईको गत मंगलबार मृत्यु भएको थियो । तर, अस्पतालले कोरोनाका कारण मृत्यु भएको सुक्रबार मात्र पुष्टि गरेको हो । गोर्खा सैनिक सेवाबाट निवृत भएपछि परिवारसहित वेलायत बस्दै आएका उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
दुई वर्ष अघि मृगौला प्रत्यारोपण पनि गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट घर फर्किएका राई मंगलबार सिकिस्त बिरामी भए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्याएका राईलाई चिकित्सकले साँझ करिव आठ बजे मृत घोषित गरेका थिए । मृत्यु भएको तीन दिनपछि अस्पतालले मृत्युको कारण कोभिड–१९ भएको जानकारी गराएको हो ।
अहिले मृतक राईका श्रीमतिसहित परिवारका सदस्यलाई आइसोलेशनमा राखिएको छ । परिवारका सदस्य आइसोलेशनमा रहेकाले समवेदन व्यक्त गर्नका लागि नजान संखुवासभा समाज, वेलायतले सूचनासमेत जारी गरेको छ ।