- रमेशचन्द्र अधिकारी
रमेशचन्द्र अधिकारी, धनकुटा

उत्तरतिर दिनहुँ नियाल्दै आएको
हिमालको चुचुरो माथि
कालो दाग देखें
खै मैले जस्तै सबैले देखे शायद
सन्त्राषमय आवाज
आइरहेथ्यो जतातजै एकतमास
कोरोना…कोरोना…कोरोना

दक्षिणतिरको सम्म मैदान नियाल्छु
सँधै देखिएको हरियाली फाँटको पल्लो छेउ
जङ्गे पिलर वारीपारी
उसैगरी मान्छेहरु डराईरहेछन्, कराईरहेछन्
एकतमास, कोरोना…कोरोना…कोरोना

Advertisement

बानेश्वरदेखि जलेश्वरसम्म
धनकुटादेखि धनगढीसम्म
इलामदेखि इरानसम्म
इटलीदेखि इटहरीसम्म
बर्दीबासदेखि पाख्रीबास, देब्रेबाससम्म
सात समुद्र पारी र वारी
मान्छेहरु शायद यसरी पहिलो पटक
एकै श्वरमा कराईरहेछन्
त्यहि आवाज आकासमा गुन्जिरहेथ्यो
कोरोना…कोरोना…कोरोना

क्वारेन्टाइनका चार किल्लामा
आइसोलेशन वार्डका भित्तामा
शंकास्पद चेहराहरु
डराई डराई घरी तन्द्रामा बर्बराउँदै थिए
ब्युँझिएर फेरी एकतमास आवाज ओकल्दै थिए
कोरोना…कोरोना…कोरोना

स–साना केटाकेटी
भाडाकुटी खेल्दै गर्दा
तर्सदै भाग्छन्
यत्रतत्र दगुर्छन्
प्रेमिल जोडीहरु
एकान्तको संलापमा
डुबुल्की मार्दै गर्दा
अत्यासमय अंगालो हाल्दै भन्दै थिए
कोरोना…कोरोना…कोरोना

अखबारका पानाभरी त्राषमय अक्षर
टेलिभिजनका पर्दामा
रेडीयो सेटमा
बजिरहेको संगीतमय धुन
बाटो बिराएको यात्री झैं
बिच मै अलमलिदै बोलिरहेथे
कोरोना…कोरोना…कोरोना

उफ् कस्तो सन्त्राषमय सपना
सेल्फ–क्वारेन्टाइनको बन्दी म
ब्युँझिएर नियाले आफैंलाई
सम्हालिन नपाउँदै
आफ्नै बन्द कोठाभित्र
अनायास चिच्याउँदै छु
भागिहाल कोरोना…कोरोना…कोरोना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!