धनुषा । विहेको मण्डप तयार छ । अघिल्लै दिनदेखि बिहे घरमा बाजा घन्किरहेको थियो । सवैजना बेहुला र जन्तीको प्रतिक्षामा थिए । तर, न जन्ती आए न त बिहे नै भयो । अन्ततः बिहे रोकियो । धनुषाको नगराईन नगरपालिकाको जटहीकी १९ वर्षीया पूजा सदा र धनुषाकै भुतहीका २१ वर्षीय सुशिल सदावीच हुँन लागेको बिहे दाईजोका कारण रोकिएको हो ।
बेहुला पक्षले दाईजो मागेको मोटरसाईकल दिन नसक्दा बिहे रोकिएको बेहुलीकी आमा बेचनी सदाले बताईन् । ‘तत्काल मोटरसाईकल किन्ने पैसा पुगेन, विहेपछि किनेर दिन्छु भनेको थिए । तरपनि मानेनन् ।’ बेचनीले भनिन् । साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर बिहेको सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि मारमा परेको उनले गुनासो गरिन् ।
विहे नभएपछि पूजा रोइरहेकी छिन् । स्थानीय केही व्यक्तिहरु मोटरसाइकल दिएरै भएपनि विहे गर्न सुझाब दिएर विहेको वातावरण वनाउन लागिपरेका छन । तर अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने पुजाको अडान छ । ‘एउटा मोटरसाइकलको लागि बिहे नगर्नेको के भर ? प्रश्न गर्दै उनले भनिन् ‘मोटरसाईकलका लागि बिहे रोक्नेले पछि दाईजोकै नाममा ज्यान पनि लिनसक्छन । अव म त्यो घरमा बिहे गर्दै गर्दिन ।’
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाको बिषयमा बुझ्ने र उजुरी परेमा कारबाही गर्ने बताएका छन् । धनुषासहित तराईका बिभिन्न जिल्लामा ऋण काढेर भएपनि दाईजो दिनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
धनुषामा दाइजोका कारण बिहे रोकिने यो प्रतिनिधि घटना मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भएपनि हत्या हुने घटना निरन्तर भईरहेका छन् । बिवाहको कुरा चलाउँदादेखिनै बेहुलीपक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ । शर्त पूरा भएमात्र विवाहको टुंगो लाग्छ ।