- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंले धनकुटामा सञ्चालित प्रथम वाईवाई सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधि जितेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले २०७१ पछि एपिएफलाई पहिलो पटक हराएको हो । वर्षाका कारण प्रभावित खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा आर्मीका रस्मि घिसिङ, पुजा राना मगर र निसा बोहोराले समान एक/एक गोल गर्दै टिमलाई उपाधि चुमाएका हुन् ।

यता एपिएफकी मञ्जु दोङले गोल गरिन् । टिमका साबित्रा भण्डारी, गिता राना र अनिता बस्नेतको प्रहार बिफल हुँदा एपिएफ उप–बिजेतामा सिमित बन्यो । खेलमा दुवै टिमले पटक–पटक गोल गर्ने मौका गुमाउँदा निर्धारित समयमा कुनै गोल नभई पेनाल्टी सुटआउटबाट खेल टुंग्याईएको हो ।

उपाधिसँगै त्रिभुवन आर्मीले नगद दुई लाखसहित ट्रंफी र प्रमाणपत्र पाएको छ भने उप–विजेता एपिएफले एक लाखसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको वुमन अफ द म्याच आर्मीकी पुजा राना मगर घोषित भइन् । एपिएफकी सावित्रा भण्डारी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनिन् ।

उत्कृष्ट फरवार्ड आर्मीकी रस्मि घिसिङ, मिडफिल्डरमा एपिएफकी रेनुका नगरकोटी, डिफेन्डरमा एपिएफकी गीता राना, गोलकिपरमा आर्मीकी अञ्जना रानामगर, सर्वोत्कृष्ट गोलकर्ता आर्मीकी सर्मिला थापा मगर र आयोजक धनकुटाकी सुस्मिता राई उदयमान खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षक आर्मीका चक्र तामाङ घोषित भए ।

जितपछि प्रतिक्रिया दिँदै आर्मीमा प्रशिक्षक चक्र तामाङले खेलाडीको कडा मेहनतका कारण ५ बर्षपछि पहिलो पटक एपिएफलाई हराउन सकेको प्रतिक्रिया दिए । यता, एपिएफका प्रशिक्षक जनक सिंहले वर्षाका कारण पराजय बेहोर्नुपरेको बताए ।

विजेता तथा उप–विजेता टोलीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उप–प्रमुख शकुन्तला बस्नेत लगायतले पुरस्कार प्रदान गरेका छन् । सात दिनसम्म सञ्चालित प्रतियोगितामा तीन विभागियसहित ८ टिमवीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!