धनकुटा । दुहवी फुटवल क्लव सुनसरीले धनकुटाको हिलेमा सञ्चालित प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा रोयल धरान फुटवल फेन्ड क्लवलाई सडेनडेथमा पराजित गदै दुहवीले उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित समयको खेल दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा दुबै तर्फवाट चार–चार गोलको बराबरी भयो । पुनः गरिएको ट्राइबेकरमासमेत दुबै तर्फबाट तीन–तीन गोलको बराबरी कायम रहेपछि खेल सडेनडेथबाट टुंग्याईएको हो ।
सडेनडेथमा दुहबीका क्याप्टेन सिर्जित कार्कीले गरेको प्रहार गोलमा परिणत भयो भने धरानका क्याप्टेन सुबोध शाहीको प्रहार पोष्टमा लागेर फर्कियो । उपाधिसँगै दुहबीले एक लाख नगद पुरस्कार जितेको छ भने उप–बिजेता धरानले ५० हजारमा चित्त बुझाएको छ ।
हिले फुटबल क्लवको आयोजनामा पाँच दिनसम्म सञ्चालित प्रतियोगिताको उपाधिका लागि पूर्वका आठ टिमवीच प्रतिस्पर्धा भएको थियो ।