धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा प्रदर्शन गर्दै कोशी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकको शव सडकमा तेस्राएर टायर बालेर प्रदर्शनसहित सडक अवरुद्ध गरिएको हो ।
आज दिउँसो करिव १२ बजे टेलर र टेम्पु ठक्कर खाँदा टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको हो । दुई जना घाईतेको उपचार भईरहेको छ ।
घटनापछि आक्रोसित मृतकका आफन्त एवं पीडित पक्षले क्षतिपुर्ति र टेलरका साहुलाई घटनास्थलमा उपस्थित गराउँनुपर्ने मागसहित सडक अवरुद्ध गरेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
उनीहरुले घटनास्थलमा शव तेस्राएर टायर बाली प्रदर्शन जारी राखेका छन् । माग पुरा नभएसम्म शव नउठाउँने उनीहरुको अडान छ । प्रदर्शन चर्किदै गएपछि प्रशासनले दर्जनौं सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल गएको छ ।
राजमार्गमा सवारी आवतजावत हुँन नसक्दा सयौं सवारी सडकमा रोकिएका छन् । मध्यान्नदेखिकै सडक अवरोधका कारण घण्टौं चिसोमा कठ्यांग्रिनु पर्दा यात्रुको बिचल्ली भएको छ ।
यो पनि पढ्नुहोस् …
धनकुटा दुर्घटना अपडेट : क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुल्यो