संगालोखबर


विराटनगर । विराटनगरबाट सुरक्षित यात्रा अभियानको शुभारम्भ भएको छ । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा सुरक्षित यात्रा अभियान एवं चालक सम्मान कार्यक्रमको शुभारम्भ भएको हो ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको सहकार्य तथा कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा विराटनगर बसपार्कबाट अभियानको शुभारम्भ गरिएको छ ।

Advertisement

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालको प्रमुख आथित्यतामा कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय, चालक, सहचालक तथा यातायात व्यवसायी लगायत सबैको साझा प्रयास आवश्यक पर्ने बताए ।

मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाउनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु र भार बोक्नु, लाइसेन्स तथा सीप बिना सवारी चलाउनु, जथाभावी ओभरटेक र पिक एन्ड ड्रप गर्नु लगायतले दुर्घटना बढेको उनले बताए ।

यस्तै लेन अनुशासन उल्लङ्घन गर्नु, यात्रु तथा पैदलयात्रीले जथाभावी बाटो काट्नु, सवारीको यान्त्रिक अवस्था, प्रतिकूल मौसम र भौगोलिक जोखिम जस्ता कारणले सवारी दुर्घटनामा वृद्धि भएको उनले उल्लेख गरे ।

त्यसकारण नियमितरूपमा सवारी साधनको चेकजाँच, मौसम, भौगोलिक जोखिम र सडकको अवस्थालाई ध्यान दिँदै सडक नियमको पूर्णरूपमा पालना गरी सुरक्षित यात्रा गर्न यातायात व्यवसायी, चालक तथा सहचालक, यात्रु एवं पैदलयात्रुलाई उनले अनुरोध गरे ।

‘सुरक्षित यात्रा अभियान’ सचेतनामूलक कार्यक्रम गरेर कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा सञ्चालन भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!