
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जनचेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । ‘सुरक्षित यात्रा अभियान’ को शुभारम्भ गर्दै प्रदेश प्रहरी कार्यालयले टिकटक भिडियो प्रतियोगिता आयोजना घोषणा गरेको हो ।
सुरक्षित यात्रा अभियान कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टिकटक प्रतियोगिता आयोजना गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सामाजिक सञ्जालको माध्यमबाट आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक टिकटक प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
आम नागरिक, यातायात व्यवसायी, चालक तथा सहचालक, यात्रु एवं पैदलयात्रुहरूमा सडक सुरक्षा अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने किसिमका जनचेतनामूलक सामाग्री सहितको टिकटक भिडियो निर्माण गरी प्रतियोगितामा सहभागि हुन प्रहरीले आग्रह गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट तीन वटा भिडियो छनोट हुनेछन् । जसमध्ये प्रथम हुनेलाई नगद ३० हजार, द्वितीय हुनेलाई नगद २० र तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदा नगरिने कार्यालयले जनाएको छ । कार्यालयले भिडियोका लागि केही सर्त र नियमहरू लागू गरेको छ ।
प्रतियोगितामा सहभागि हुन अनिवार्य नेपाली नागरिक हुनुपर्ने, २ मिनेटसम्मको भिडियो हुनुपर्ने, सडक सुरक्षा सचेतना सम्बन्धी सन्देशमूलक तथा जनचेतना अभिवृद्धि गर्ने भिडियो हुनुपर्ने लगायतका सर्तहरू राखिएको छ । भिडियो आफ्नो टिकटक आइडीमा पोष्ट गर्नुका साथै मंसिर १५ गतेसम्ममा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाइसक्नुपर्नेछ ।


संगालोखबर 



















