
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै मोरङ उद्योग व्यापार संघले स्वागत गरेको छ । संघले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपिएको उल्लेख गरेको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धीप्रति धारणा सार्वजनिक गर्दै संघले भारतका दीनदयाल (काँडला) र पारादीप बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्थाले ढुवानी खर्च र समय घटाउने विश्वास व्यक्त गरेको छ ।
काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्ग दोहोरो बनाउन भारत सहमत हुनुले भैरहवा र पोखरा अन्तरदेशीय विमानस्थल सञ्चालनमा सहज हुने, हवाई भाडा सस्तो पर्ने र पर्यटन व्यवसायीलाई राहत मिल्ने संघको बुझाइ छ ।
कञ्चनपुरको बनबासामा एकीकृत जाँच चौकी (आईसिपी) शिलान्यास, दार्चुला-धार्चुला मोटरेबल पुल उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा-चाँदनीका जाँच चौकीको काम अघि बढ्दा सीमा नाकाको अवरोध हट्ने संघको विश्वास छ ।
संघका अध्यक्ष अनिलकुमार साहद्वारा जारी विज्ञप्तिमा भारतले घोषणा गरेको २४ हजार करोड रुपैयाँको सहयोग प्याकेज, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र प्रसारण लाइन निर्माणको सहमतिले उद्योगलाई बाह्रै महिना विद्युत् आपूर्ति हुने विश्वास गरिएको छ ।

त्यस्तै, अमलेखगन्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन (दोस्रो चरण) को उद्घाटन र झापा-सिलिगुडी पेट्रोलियम टर्मिनलको शिलान्यासले इन्धन अभाव नहुने र बजारभाउ नियन्त्रणमा सघाउ पुग्ने संघले जनाएको हो ।
अयोध्या-जनकपुर रेल सेवा, रक्सौल-काठमाडौँ विद्युतीय रेलमार्ग सर्वेक्षण, चितवनमा कृषि-औद्योगिक पार्क, आईटी इन्स्टिच्युट र स्टार्टअप हब खोल्ने सहमति तथा सीमापार बैंकिङ र टेलिकम सेवा सहज बनाउने कुरालाई पनि संघले सकारात्मक भनेको छ ।
भ्रमणका क्रममा नेपाली उद्योगी-व्यवसायीले भोगिरहेका केही प्रमुख समस्यामा भने सरकारले तत्काल ध्यान दिनुपर्ने संघका अध्यक्ष साहले बताए । निर्यातमा प्रत्यक्ष असर पारिरहेको बीआईएस प्रमाणीकरणको समस्याबारे केही भए/नभएको जानकारी नआएको उल्लेख गर्दै संघले नेपालमा उत्पादित मालवस्तुको प्रमाणीकरण बीआईएससरह नेपालमै हुनुपर्ने र त्यसलाई भारतले मान्यता दिनुपर्ने माग गरेको छ ।
जुट उद्योगमाथि लगाइएको एन्टीडम्पिङ तथा काउन्टरभेलिङ शुल्कले जटिल समस्या निम्त्याएको र हजारौँ कामदारको रोजगारी अन्योलमा परेको भन्दै त्यसबारे लचकता अपनाइयो वा अपनाइएन भन्ने विषयमा संघ अनविज्ञ रहेको जनाएको छ । संघले जुट उद्योगको उक्त ज्वलन्त समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।
भारतले जीटुजी र बीटुबी आधारमा नेपालको सरप्लस विद्युत् खरिद गर्ने व्यवस्थाबारे स्पष्ट पार्न, क्रिकेट पूर्वाधार विकास, तालिम तथा घरेलु लिगमा खेल्ने सम्भावनाको अध्ययनसम्बन्धी सहमति छिटो कार्यान्वयनमा ल्याउन र ती सहमतिलाई कागजमै सीमित नराखी औद्योगिक तथा व्यापारिक अवरोध फुकाउन सरकारसँग सहकार्य गर्न संघ तत्पर रहेको अध्यक्ष साहले बताए ।

संगालोखबर 



















